चितवन, २९ पुस । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले पुरातात्विक स्थलको संरक्षण राज्यको दायित्व भएको बताएका छन् ।
आज बिहान भरतपुर महानगरपालिका–१ मा रहेको बागिश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको अवलोकन निरीक्षणपछि उनले प्राकृतिक तथा पुरातात्विक स्थलहरुको संरक्षण गर्न सकेमा मात्रै नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्न सकिने बताए ।
उनले भने, “पुरातात्विक वस्तुको संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध छ, सोहीअनुसार पुरातात्विक स्थलको निरीक्षण अनुगमन गरिरहेका छौँ ।” उनले त्यस अवसरमा सोही स्थानमा रहेको प्राकृतिक चिकित्सालय, समावेशी गुरुकुल र गौशालाको समेत निरीक्षण गरेका थिए ।
आश्रमका अध्यक्ष सैलेन्द्र पिया र महासचिव अशोक पोखरेलले आश्रमसहितका विभिन्न संरचनाबारे जानकारी गराएको थियो । उनीहरुले आश्रमका लागि प्रदेश सरकारले सहयोग गरे अझै व्यवस्थित वनाउँदै लैजान सहज हुने बताए ।
अनुगमनका क्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल, बागमती प्रदेशका सदस्यहरु उत्तम जोशी, गीता गुरुङलगायतको सहभागिता थियो । रासस/file photo