Logo

एक महिनाअघि नै भारत जान्छु भनेका थिए प्रधानमन्त्री ओलीले, किन भएन अझै भ्रमण ?



काठमाडौं, २९ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्किएलगत्तै भारत भ्रमणमा जाने घोषणा गरेको एक महिना बितिसकेको छ । २३ मंसिरमा नै प्रधानमन्त्री ओलीले आफ्नो गृहजिल्ला झापाको दमकमा आयोजित एक कार्यक्रममार्फत आफू भारत भ्रमणमा जान लागेको घोषणा गरेका थिए ।

उनले भाषणको क्रममा भनेका थिए,‘‘हामी देश बनाउँछौं। कर्णालीमा पुल बन्ने भएको छ। चीन भ्रमणबाट थुप्रै कुराहरू भएका छन्, अब मान्छेहरूले पत्याएका छैनन् होला। म केही समयपछि भारत भ्रमणमा पनि जान्छु।’ प्रधानमन्त्री ओलीले बडो आत्मविश्वासको साथ भारत भ्रमण जाने घोषणा गरेको महिना दिन बितिसक्दापनि अहिलेसम्म भ्रमणको चाँजोपाँजो सुरु नहुनुले भ्रमण हुनेमा अन्यौलता सिर्जना गरेको छ ।

कतिसम्म भने प्रधानमन्त्री ओलीनिकट एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतले त पुष २५ गते प्रधानमन्त्री भारत भ्रमणमा जाने भनेर ठोकुवा गरेका थिए । उनले सामाजिक सञ्जाल फेशबुकमा नै त्यस्तो स्टाटस लेखेका थिए । धेरैले भ्रमण हुने निश्चित् भएको र मिति तय भएको भनेर बुझे । तर, एक महिना बितिसक्दापनि भ्रमण हुन नसक्नुले तत्काल भ्रमण हुने सम्भावना देखिएको छैन् ।

सत्ता गठबन्धनमा समेत प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा कुरा उठ्ने गरेको छ । निम्तो नै नआईकन किन भारत भ्रमणमा जान्छु भनेर प्रधानमन्त्रीले भन्नुभयो भनेर अहिले कांग्रेसकै नेताहरुले पनि कुरा उठाउन थालेका छन् । बीआरआई फ्रेमवर्क सम्झौता भएपछि अहिलेको सरकारसँग भारत चिढिएको भनिएको छ । यो बीचमा परराष्ट्रमन्त्री डा. आरजु राणाले समेत भारत भ्रमण गरेकी थिईन् ।

उनको भारत भ्रमणको उद्देश्य नै प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति तय गर्नु थियो । तर, भारतले आरजुलाई दिल्लीमा न्यानो आतिथ्यता देखाएन । उनी निराश भएर फर्किएकी थिईन् । अहिले त भ्रमणको विषयमा कुनै कुरा नै अघि नबढेको बुझिएको छ । बरु, यो बीचमा प्रधानमन्त्री ओलीले नेपालका लागि पाकिस्तानका राजदूतसँगको भेटमा पाकिस्तान भ्रमणमा जाने कुरा गरेको समाचार आएका थिए ।

भारतले भ्रमणको निम्तो नदिएपछि पाकिस्तान भ्रमणमा जान लागेको भनेर चर्चासमेत भएको थियो । पाकिस्तान भ्रमण हुने वा होईन त्यो पनि अहिलेसम्म प्रष्ट भएको छैन् । प्रधानमन्त्री ओलीको भारत भ्रमणको चर्चा भैरहेको बेलामा बरु चिनियाँ विदेशमन्त्री तत्कालै नेपाल आउने तयारी थालिएको उच्च स्रोतको दाबी छ । उनको भ्रमणको तयारीको लागि दुवै तर्फका सरकारी अधिकारीले गृहकार्य गरिरहेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्