काठमाडौं, २९ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पार्टी विभाजन हुने भयबाट मुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले नै आफू पार्टी विभाजन गर्ने वा जोड्ने काममा नलाग्ने सार्वजनिक रुपमा स्पष्ट पारेपछि माधव नेपाललाई हाईसञ्चो भएको हो ।
पछिल्लो समय माधव नेपालको दल विभाजनको तयारीमा रहेको भन्ने समाचार आएका थिए । माधव नेपालको दलका चार जना सांसद एमाले प्रवेशको तयारीमा भनिएको समाचारपनि आइरहेका थिए । तर, प्रधानमन्त्री ओलीले नै आफू कुनैपनि दल विभाजन गर्ने खेलमा नलागेको स्पष्ट पारेपछि माधव नेपालको दलमा खुशियाली छाएको छ।
कतिसम्म भने संसद्को अधिवेशन बोलाउन ढिलाई हुँदासमेत सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको भनिएको थियो । कतिपयले भने कांग्रेस सभापति शेरबहादुर देउवाले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन सहमति नदिएको भनेर दाबीसमेत गरेका छन् । अब बस्ने मन्त्रिपरिषद् बैठकले संसद्को हिउँदे अधिवेशन बोलाउने भएको हुँदा अब दल विभाजनसम्बन्धी अध्यादेश नआउने करिब निश्चित् रहेको कांग्रेसका एक नेताले स्पष्ट पारे । file photo