Logo

पहिलोपटक राष्ट्रपति सिंहदरबार प्रवेश, भवन निर्माण अवलोकनमात्रै कि राजनीतिक सन्देश पनि ?



काठमाडौं, २९ पुष । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबारको पुतली बगैंचामा निर्माण भैरहेको संसद भवनको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेल एकाएक निर्माणाधिन संसद् भवनको अवलोकन गर्न पुगेका हुन्। उनलाई सभामुख देवराज घिमिरेले निर्माण भैरहेको उक्त भवनको अवलोकन गराएका हुन् । राष्ट्रपति पौडेल सभामुख भैसकेका व्यक्तित्व हुन् ।

सो भवनको निर्माण कार्यप्रति राष्ट्रपति चासो राखेकोमा सभामुख घिमिरेले आभार व्यक्त गरेको सचिवालयले जनाएको छ । गणतन्त्र प्राप्तपछि राष्ट्रपति पहिलोपटक सिंहदरबार छिरेका हुन् । यसअघिका राष्ट्रपतिहरु रामवरण यादव र विद्यादेवी भण्डारीले आफ्नो दुई कार्यकालभरि एकपटक पनि सिंहदरबार प्रवेश गरेनन् ।

तर, अहिलेका राष्ट्रपति पौडेलले भने सिंहदरबार प्रवेश गरेर नयाँ इतिहास रचेका छन् । उनी भवन निर्माणको अवलोकनमा गएका हुन् । उनले संसदीय सर्वोच्चतालाई महत्व दिएको रुपमा आजको अवलोकन भ्रमणलाई बुझिएको छ । भवन निर्माणको अवलोकनमा यसअघि मन्त्रीहरु, प्रधानमन्त्रीहरु पनि पुगिसकेका थिए ।

तर, राष्ट्रपति पौडेलले भवन निर्माणमा मात्रै नभएर संसद्को महत्वको बारेमा सन्देश दिन यो अवलोकन भ्रमण गरेको बुझिएको छ । सरकारले संसद्को अधिवेशन बोलाउन आलटाल गरेको र संसद् छलेर अध्यादेशबाट शासन चलाउन खोजेको भनेर आलोचना भैरहेको बेलामा राष्ट्रपति पौडेलले संसद् भवनको निर्माण कार्यप्रगतिको जानकारी लिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्