बाँके, माघ १ । नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए ।
“माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवा लगायत नाच थारू गाउँमा शुरु भएका छन्”, उनले भने, “गाउँगाउँमा नाच सँगै माघीको चहलपहल शुरु भएको छ । माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा समेत उठाउने चलन छ ।”
पुसको अन्तिम देखि माघको मध्य सम्ममा थारू समुदायले माघी पर्व मनाउने गर्छन् । थारू समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ । माघी देखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्थ लागू हुने भएकाले यसलाई विशेष रूपमा हेरिने गरेको बाँके बैजनाथका थारू अगुवा चन्द्रबहादुर चौधरीले बताए ।
माघीलाई थारू समुदायमा आ–आफ्नै तरिकाले मनाउने तर, नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको उनले बताए । “माघी आए सँगै थारूगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ”, थारू अगुवा चौधरीले भने, “नयाँ पुस्तामा संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ ।”
माघी थारू समुदायको चाडमात्र नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा, भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीतिनियम निर्माण गर्ने पर्वका रूपमा रहेको चौधरीको भनाइ छ । पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारू समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लामा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ ।
गाउँको अगुवा कन्दार देखि चौकीदार सम्म चुनिने, वर्ष भरिका लागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाह लगायत विषयमा छलफल हुने भएकाले यसलाई नयाँ आर्थिक वर्षका रूपमा पनि थारू समुदायले लिने गरेको राप्ती सोनारी–३ का वडाध्यक्ष मीनकुमार थारूले बताए ।
“थारू समुदायमा विशेष गरेर पुसको अन्तिम दिन देखि माघीको प्रभाव देखिने गर्छ । अहिले थारू गाउँगाउँमा रात भर आगो बाल्ने चलन अनुसार दाउरा सङ्कलन, पिसान कुटान, रङरोगन, जाँड बनाउने ढिक्री पकाउने तथा खानाका अन्य प्रकार निर्माण पूरा गरिएको छ”, उनले भने, “माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको आयोजना हुने गर्छन् ।”
उनका अनुसार थारू समुदायमा माघ १ गतेको अघिल्लो दिन रात भरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एक ठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगो बाली रातभर आगो तापेर रमाइलो गर्छन् । राति आगो ताप्ने, भाले बासे सँगै नदी, खोलामा नुहाउने गर्छन् ।
नुहाएर आफू भन्दा ठूला सँग आशीर्वाद लिने र सानालाई स्नेह गर्ने चलन छ । माघ २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीतिनियम बनाउने चलन छ । त्यसपछि केही दिन नाचगान गरेर पर्व मनाउने चलन छ । माघीकै अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवा लगायत नाच नाचिने गरिन्छ । माघी पर्व सँगै थारू संस्कृति संरक्षण र रमाइलोका लागि मगौटा नाचगान शुरु भएको बाँके राप्ती सोनारी–२ कचनापुरका रामदास थारूले जानकारी दिए ।
भुवरभवानीमा माघी मेला
थारू समुदायको मुख्य पर्व माघीका अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिर परिसरमा ऐतिहासिक माघी मेला शुरु भएको छ । बैजापुर स्थित भुवरभवानी मन्दिर परिसरमा प्रत्येक वर्ष माघी पर्वका अवसरमा पुस २९ देखि माघ ४ गते सम्म लाग्ने माघी मेलामा बाँकेका साथै छिमेकी जिल्ला र भारत बाट समेत भक्तजन पुग्ने गरेको मेलाका संरक्षक एवं वडाध्यक्ष मीनकुमार थारूले जानकारी दिए ।
“भुवरभवानी मन्दिर नेपाल र भारतमा प्रचलित भएकाले यसको अझ प्रचारप्रसार गर्न सके आस्थाको गन्तव्य बन्न सक्छ”, मीनकुमारले भुवरभवानी माघी मेला बारे भने, “धर्म र आस्थाको संरक्षणका लागि बाहिरी पर्यटन भित्र्याउन मेला सहयोगी बन्दै आएको छ ।”
विसं २०१३ मा स्थापना भएको भुवरभवानी मन्दिरमा वर्षमा तीन पटक विशेष पूजा सँगै लाग्ने मेलामा व्यापार व्यवसायका साथै मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन हुने गरेका मेलाका संरक्षक एवं राप्तीसोनारी गाउँपालिका–३ का वडाध्यक्ष तुलसीरामले बताए । रासस