Logo

तातोपानी नाका सञ्चालन गर्न उच्चस्तरबाटै पहल आवश्यकः अध्यक्ष प्रचण्ड



सिन्धुपाल्चोक, १ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोकको तातोपानी नाका पुरानै अवस्थामा सञ्चालन गर्न आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । आफू प्रधानमन्त्री हुँदा र नहुँदा पनि तातोपानी नाका सञ्चालनका लागि पहल गरेको उनले बताए ।

यहाँको सुकुटेमा आयोजित बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्न आएका अध्यक्ष प्रचण्डले आज पत्रकार भेटघाट कार्यक्रममा तातोपानी नाका सञ्चालन गर्न चीन सरकारसँग पटकपटक कुराकानी भएको बताए । नाका पुनः सहज रुपमा सञ्चालनमा ल्याउन दुई देशका माथिल्लो तहबाट पहल र प्रयत्न आवश्यक रहेको उनको भनाइ छ ।

अध्यक्ष प्रचण्डले बिच भलिबल प्रतियोगिताले सुकुटेको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले पहिलोपटक नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक सुकुटेमा राखेको बेला सुकुटेले देशकै ध्यान केन्द्रित गरेको स्मरण गर्दै सिन्धुपाल्चोकको विकासका लागि चासो र चिन्ता गरिरहेको उल्लेख गरे। रासस



प्रतिक्रिया दिनुहोस्