Logo

सञ्चारमाध्यमले निष्पक्षतापूर्वक समाचार सम्प्रेषण गर्नुपर्ने



काठमाडौँ, १ माघ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीले सूचना प्रणालीलाई बलियो बनाउँदै सत्य र निष्पक्ष जानकारी प्रवर्द्धन गरी समाजलाई दिगो, न्यायसङ्गत र समावेशी बनाउनुपर्नेमा जोड दिएका छन् ।

यहाँ आज आयोजित सार्वजनिक सेवा प्रसारण नेपालको पूर्वारम्भ कायक्रममा उनले भने, “सूचनाले व्यक्तिलाई सशक्त, सही निर्णय गर्न सक्षम बनाउँछ र सूचना भनेको ज्ञानको संवाहक हो ।” उनले सूचना लोकतान्त्रिक मूल्य मान्यता र समाजको समृद्धिको आधारशिलासँग जोडिएको बताउँदै सत्य सूचनाले जनताको आधारभूत अधिकार प्राप्त गर्न सहयोग पुग्ने बताए ।

सार्वजनिक सेवा प्रसारणले सूचनाको पहुँचलाई विश्वसनीय र सन्तुलित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको विश्वास छ । “सूचना–अधिकार, केवल कानुनी अधिकार होइनस यो एक मौलिक मानव अधिकार हो”, उपाध्यक्ष अधिकारीले भने । उनले असमान सूचना प्रवाह वा पहुँचबाट समाजमा ठूलो प्रभाव पर्ने धारणा राखे ।

त्यसैगरी सोही कार्यक्रममा सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले सार्वजनिक सेवा प्रसारण ऐनमा तोकिएको काम, कर्तव्य र अधिकार अनुसार प्राथमिकताका साथ काम गर्न निर्देशन दिएका छन् । उनले सार्वजनिक सेवा प्रसारणको मुलभूत सिद्धान्त बमोजिम काम गर्नुपर्नेमा जोड दिए ।

७४ बर्षे इतिहास बोकेको रडियो नेपाल र ४० वर्षको इतिहास बोकेको नेपाल टेलिभिजनको आफ्नै महत्व रहेको बताउँदै उनले सार्वजनिक सेवा प्रसारण नेपालको मर्म अनुरुप काम गर्नुपर्ने बताए।

सार्वजनिक सेवा प्रसारण (पिएसबी) नेपालका अध्यक्ष डा महेन्द्र विष्टले पीएसबी संस्था समृद्ध राष्ट्र निर्माणको संवाहक बन्ने बताए ।

“रेडियो नेपाल र नेपाल टेलिभिजनले मुलुकको समृद्धि, कला संस्कृतिको प्रवर्द्धनमा महत्त्वपुर्ण योगदान पु(याउँदै आएको छ, रेडियो र टिभीलाई नयाँ स्वरुपमा परिवर्तन गर्दै दुवै संस्थाको अस्तित्वलाई थप बलियो बनाइने छ”, उनले भने ।

रेडियो नेपाल र नेपाल टेलिभिजनबीच एकीकरण गरी सार्वजनिक सेवा प्रसारणमा रुपान्तरण गर्ने गरी सावर्जनिक सेवा प्रसारण सेवासम्बन्धी ऐन, २०८१ असोज २२ गते प्रमाणिकरण भई त्यसको ३१औँ दिन अर्थात् २०८१ कात्तिक ३० गतेदेखि पूर्ण रुपमा कार्यान्वयनमा आएको छ । रासस



प्रतिक्रिया दिनुहोस्