Logo

सपना अधूरै छाडेर अस्ताए चुङ्बा



-सुवास दर्नाल

सोलुखुम्बु, १ माघ । चुङ्बा शेर्पा केहीदिन अघिदेखि वन्यजन्तुको फोटो खिच्न इन्डोनेसिया जाने तयारीमा थिए । उनले १० दिनपहिले नै यात्राका लागि आवश्यक तयारी पूरा गरेको थियो । पारिवारिक स्रोतका अनुसार, उनले प्लेन टिकट पनि लिइसकेको थियो ।

यस यात्रालाई उनले फोटोग्राफी जीवनकै महत्त्वपूर्ण यात्राको रुपमा उनले लिएको थियो । तर उनी एक साताअघि अचानक बिरामी परे । कलेजोसम्बन्धी समस्याले ग्रसित बनेपछि उनलाई काठमाडौँको ग्रान्डी अस्पतालमा भर्ना गरियो । भेन्टिलेटरमा उपचाररत शेर्पाले ६४ वर्षको उमेरमा आइतबार राति १२ः१५ बजे अन्तिम सास फेरे । बाँकी सपना सधैँका लागि अधूरो छाडेर उनी स्वर्गीय भए ।

खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्लामा जन्मिएका शेर्पा ‘वाइल्डलाइफ फोटोग्राफी’को क्षेत्रमा पछिल्लो पाँच वर्षदेखि सक्रिय थिए । उनले नेपालका विभिन्न राष्ट्रिय निकुञ्ज र दुर्गम स्थानहरूमा पुगेर दुर्लभ वन्यजन्तुका तस्बिरहरु खिचेको छ । उनले खिचेको जङ्गली याक, हिउँचितुवा र बाघका तस्बिरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चर्चा कमाएका छन् । चुङ्बाको जीवन सङ्घर्ष र उपलब्धि जो कोहीका लागि प्रेरणादायी छ ।

विसं २०४० मा तत्कालीन चौँरीखर्क गाउँ पञ्चायतका प्रधानपञ्चबाट उनको सार्वजनिक जीवनको सुरुआत भएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसमा प्रवेश गरेका शेर्पा पछिल्लो समय खुम्बु पासाङल्हामु गाउँपालिका समितिका सभापति थिए । उनले शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।

लुक्ला विमानस्थलदेखि चौँरीखर्कमा माध्यमिक विद्यालय स्थापनामा उनको ठूलो योगदान रहेकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका–१ का वडाध्यक्ष फुनुरु शेर्पाले बताए । उनले भने, “खुम्बुको एउटा धरोहर गुमायौँ, उहाँ असाध्यै सहयोगी र दयालु हुनुहुन्थ्यो, कुनै लोभलालच र स्वार्थ बिना अथक समाजसेवा गर्ने मान्छे हामीले सायद पाउँदैनौँ होला ।”

सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुका तत्कालीन प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले चुङ्बा शेर्पाको योगदानलाई सम्झँदै प्रतिक्रिया दिएको छ । उनले भने, “चुङ्बा शेर्पा नेपालमा मात्रै नभई विश्वभर ख्यातिप्राप्त प्रतिभाशाली वाइल्डलाइफ फोटोग्राफर हुनुहुन्थ्यो । उहाँको फोटोग्राफीले वन्यजन्तु पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निर्वाह गरेको छ ।” चुङ्बा शेर्पा कुनै सामान्य फोटोग्राफर नभएर प्रकृतिप्रति गहिरो माया गर्ने व्यक्ति भएको उपाध्यायको ठम्याइ छ ।

चुङ्बा शेर्पा ५७ वर्षको उमेरमा वाइल्डलाइफ फोटोग्राफीमा होमिएको थियो । लामो समयसम्म यती एयरलाइन्समा जागिर र होटल व्यवसाय सफलतापूर्वक सञ्चालन गरेका उनी छोराछोरीलाई सबल बनाइसकेपछि सानैदेखिको सपना पूरा गर्न फोटोग्राफीमा लागेको थियो ।

उनले क्याननको उच्चस्तरीय क्यामेरा र लेन्स प्रयोग गर्न विदेशीहरूबाट अनलाइन कक्षा लिएको थियो । वन्यजन्तुका फोटो खिच्न शेर्पाले धेरै जोखिम मोलेको थियो । जङ्गली याकको फोटो खिच्ने क्रममा उनलाई याकले आक्रमण गरेको उनले आफ्नो अन्तरवार्तामा भनेको छ । बाघको फोटो खिच्दा पनि बाघले झम्टिएपछि भागेर ज्यान जोगाएको थियो । नेपालको निकुञ्ज विभागले देशैभरका संरक्षित क्षेत्रमा फोटो खिच्न उनलाई अनुमति दिएको थियो ।

शेर्पाले सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ३३ पटक फोटो खिचेको वडाध्यक्ष फुनुरु बताउँछन् । उनले तिब्बतसँगको सिमाना लिमी भ्याली पुगेर दुर्लभ जङ्गली याकको सुन्दर तस्बिर खिचेको थियो । यसअघि नरेश कुसीको टिमले जङ्गली याकलाई क्यामेरामा कैद गर्न सफल भएको थियो । वाइल्डलाइफ फोटोग्राफरका रूपमा चुङ्बाले खिचेको तस्बिर नै हालसम्मकै सुन्दर भएको जानकारहरू बताउँछन् ।

शेर्पाले नेपालको पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पु(याएको छ । नेपाल पक्षी संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाल पर्यटन बोर्डजस्ता थुप्रै संस्थाबाट उनले सम्मान प्राप्त गरेको छ ।

शेर्पाका दुई छोरा र दुई छोरी छन् । जेठा छोरा छेवाङ शेर्पा चिकित्सक हुन् भने छोरी बन्दा फुटी शेर्पा जहाजकी क्याप्टेन हुन् । पत्नी आङफुटी शेर्पाको निधन १० महिनाअघि भएको थियो भने छोरी मिङ्मा शेर्पाको पाठेघरको क्यान्सरबाट डेढ वर्षअघि निधन भएको थियो ।

उनका परिवारका सदस्यहरुका अनुसार शेर्पाले फोटोग्राफीबाट कहिल्यै आर्थिक लाभको अपेक्षा गरेनन् । आफ्नो फोटोहरूले नेपालको वन्यजन्तु संरक्षण र पर्यटन प्रवर्द्धनमा योगदान दिन सकून् भन्ने उनको चाहना थियो । रासस



प्रतिक्रिया दिनुहोस्