Logo

पक्राउ परेपनि युनद्वारा बयान दिन इन्कार



सियोल, २ माघ । महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलले अनुसन्धानका क्रममा कुनै वयान दिन नमानेको अन्सन्धानमा सम्लग्न अधिकारीहरूले बुधबार जनाएका छन् ।

दक्षिण कोरियाको भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले स्थानीय समयअनुसार बिहान ११ :०० बजेदेखि अपराह्न १ः३० बजेसम्म गरिएको अनुसन्धानका क्रममा महाभियोग लागेका राष्ट्रपति युन सुक योलले लगातार कुनै बयान दिन इन्कार गरेको र सोधपुछ प्रक्रियालाई रेकर्ड गर्न वा भिडियो टेप गर्न दिन अस्वीकार गरेको जनाएको हो ।

स्थानीय सञ्चारमाध्यमले सीआईओलाई उद्धृत गर्दै भनेको छ, “युनलाई हिरासतका लागि ‘सियोल डिटेन्सन सेन्टर’मा स्थानान्तरण गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रपतिको सुरक्षा टोलीसँग छलफल भइरहेको छ ।

यसबाहेक, सीआईओले ‘सियोल वेस्टर्न डिस्ट्रिक्ट कोर्ट’बाट जेल चलानका लागि मिति थप गरी पक्राउ पूर्जीे जारी गर्नका लागि आवेदन गर्ने तयारी गरिरहेको छ । यदि सहमति भएमा हिरासत अवधि बढीमा २० दिनसम्म बढाउन सकिन्छ ।

सीआईओले १० दिनको हिरासतपछि युनलाई अभियोजनपक्षलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । यसको जवाफमा युनको कानुनी टोलीले एक विज्ञप्ति जारी गर्दै सीआईओलाई राष्ट्रपतिमाथि अनुसन्धान गर्ने अधिकार नभएको र पक्राउ पुर्जी ‘गैरकानुनी’ भएको उल्लेख गरेको छ ।

उक्त टोलीले पक्राउ पुर्जी को गैरकानुनी कार्यान्वयनको लागि सीआईओ र प्रहरीलाई कानूनी रूपमा जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। रासस



प्रतिक्रिया दिनुहोस्