चितवन, ३ माघ । नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले अर्थतन्त्रलाई गतिशील बनाउन अध्यादेश जारी भएको स्पष्ट गरेका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै उनले सदन सञ्चालन नभएका बेला अत्यावश्यक ऐनकानुन अध्यादेशमार्फत जारी हुनु न्यायसङ्गत भएको तर्क गरे ।
उनले भने, “अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको हो । व्यवसायीका निराशालाई आशामा बदल्न अध्यादेश आवश्यक थियो ।” ऐन कानुनले केही विषय बाँधिएकाले संशोधनस्वरुप अध्यादेश ल्याइएको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा उनले वर्तमान सत्ता समीकरण कसैले चाहँदैमा परिवर्तन नहुने बताए । उनले भने, “कांग्रेस र एमालेबीचमा भएको समझदारी अनुसार नै सरकारले काम गरिरहेको छ ।” रासस/file photo