Logo

नेपाली समूदायको हितको रक्षा गर्न मिसन प्रमुखहरुलाई मन्त्री राणाको निर्देशन



काठमाडौं, ४ माघ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वभरि रहेका नेपाली मिसन प्रमुखहरुलाई भर्चुअल माध्यमबाट संयुक्त रुपमा सम्बोधन गरेकी छिन् । सो क्रममा उनले नेपालको राष्ट्रिय स्वार्थको रक्षा र सम्मान गर्दै नेपाली समूदायको अधिकतम हित प्रवद्र्धनमा लाग्न आग्रह गरेकी छिन् ।

हिजो (बिहीबार) भर्चुअल सम्बोधन गरेकी मन्त्री राणाले विदेशमा रहेका नेपाली समूदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न र उनीहरुको हितको रक्षा गर्न मिसन प्रमुखहरुलाई निर्देशन दिएकी हुन् । सो सम्बोधनबारे जानकारी दिँदै मन्त्री राणाले फेशबुकमा लेखेकी छिन्–

विश्वमा रहेका सबै नेपाली मिसनका प्रमुखहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गरेकी छु । उहाँहरुलाई खासगरी नेपालको राष्ट्रिय स्वार्थको रक्षा र सम्मान गर्दै नेपाली समुदायको अधिकतम हित प्रवर्धनमा लाग्न आग्रह गरेकी छु । विदेशमा रहेको ठूलो नेपाली समुदायलाई आवश्यक पर्ने सेवा प्रदान गर्न, उहाँहरुको हितको रक्षा गर्न, उहाँहरुका खाँचो र आवश्यकताहरुमा ध्यान दिन तथा नेपाली डायस्पोराका समस्या र गुनासाहरुमा सहजै उपलब्ध भइदिन पनि मैले उहाँहरु सबैलाई विशेष आग्रह गरेकी छु । हाम्रो कूटनीतिको प्रभावकारिता नेपाली मिसनको क्षमतामा भर पर्ने भएकाले यसतर्फ ध्यान दिएर काम गर्न र विशेष गरी पछिल्लो समयमा नेपालका लागि अति आवश्यक देखिएको आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न पनि उहाँहरुलाई निर्देशन दिएकी छु ।



प्रतिक्रिया दिनुहोस्