काठमाडौं, ४ माघ । पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले अहिले जनता सन्तुष्ट नभएको टिप्पणी गरेका छन् । उनले भने,‘अहिले मैले यसो हेर्दाखेरि जनता सन्तुष्ट छैनन् । अहिलेको सरकारको कारणले मात्रै होईन, हामीले अलिक बढि नै आशा जगायौं कि क्या हो, जसलाई राखेर कुर्सीमा राखेपनि जनता सन्तुष्ट नहुने देखियो । हामीले ठूलो ठूलो आशा जगायौं, सपना देखायौं । जुन कुरा परिपूर्ति हुन सक्दैन् ।’
हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले जनताले अब सकारात्मक रुपमा हेर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहको लोकप्रियतालाई मुलुकले उपयोग गर्नुपर्ने भन्दै त्यसको लागि दलहरुबीच सहमति हुनुपर्ने बताए ।
उनले नेपाल हिन्दूराष्ट्र बन्दा नै फाईदा हुने बताए । तर, देशमा विगतमा जस्तै अहिलेपनि सबै धर्मालम्वीहरु मुस्लिम र इशाईहरु सुरक्षित हुनुपर्ने उनको भनाई छ । उनले देशमा अभिभावकको रुपमा राजसंस्था राख्नुपर्नेमा जोड दिए ।