काठमाडौं, ४ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले अहिलेको कांग्रेस–एमाले गठबन्धनमा कुनै समस्या नभएको दाबी गरेका छन् । उनले भने,‘यो गठबन्धनमा कुनै समस्या छैन्, सबैजना ढुक्क भए हुन्छ ।’ उनले सरकारमा भएका मन्त्रीहरुले प्रभावकारी काम गरेको दाबीसमेत गरे ।
हिजो (बिहीबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले सरकारले काम गरिरहेको भएपनि यसको परीणाम आउन समय लाग्ने बताए । उनले अहिलेको सरकार बलियो सरकार भएकोले असफल हुने छुट नभएको स्पष्ट पारे ।
उनले अब सरकार द्रुत गतिमा काम गरेर अघि बढ्ने बताए । उनले भने,‘कांग्रेस र एमालेबीच कुनै विवाद छैन् । अध्यादेश पनि सहमतिमा ल्याएका हौं । हाम्रो गठबन्धनमा कुनै समस्या छैन् ।’ उनले आफूले सम्हालेको मन्त्रालयअन्तर्गत सडक निर्माणको कामपनि द्रुततर गतिमा अघि बढाईएको बताए । कर्णालीको विकासको लागि पनि विशेष ध्यानमा राखेर आफूले काम गरेको उनको दाबी छ । यस्तै, हुम्लाको सिमिकोटसम्म सडक जोड्ने उनको भनाई छ ।