Logo

हामी कुर्सीको माला जप्ने होइनौं : माधव नेपाल



काठमाडौं, ४ माघ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरु कुर्सीको माला जप्ने मान्छे नभएको प्रतिक्रिया दिएका छन् । संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न ७ दलको संयुक्त पत्रकार सम्मेलनपछि मिडियाकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले भने,‘सरकारले गलत काम गरेको छ भने त्यसको आलोचना हुन्छ, त्यसको विरोध हुन्छ । र, जनताको बीचमा त्यसलाई नांगेझार पारिन्छ । अर्को कुरा, सत्तामात्रै दिमागमा छ भने वा कुर्सीमात्र दिमागमा छ भने कुर्सीको माला जपे भो, हामी कुर्सीको माला जप्ने होईनौं । जनता र राष्ट्रलाई केन्द्रविन्दुमा राखेर अघि बढ्छौं ।’

जनताले आफूहरुलाई साथ दिने उनको विश्वास छ । उनले सरकारले अध्यादेश फिर्ता लिनेमा आफू आशावादी रहेको सुनाए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाही हुन नदिने बताए । सरकारको काम सन्तोषजनक नभएको नेपालको आरोप छ। उनले अहिलेको सरकारले पूर्ण रुपमा संविधानलाई बेवास्ता गरेको टिप्पणी गरे । उनले रातारात संविधान संशोधन नगरी नहुने कुरा कसरी आइपर्यो ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस्