कालीकोट, माघ ७ । खाँडाचक्र नगरपालिका-१ स्थित पञ्चदेव माध्यमिक विद्यालयमा बहु प्राविधिक शिक्षालय, आवासीय र प्रशासनिक भवन निर्माण भएका छन् । विद्यालयका शिक्षालय, आवासीय र प्रशासनिक गरी तीनवटै भवन रु. दुई करोड ३५ लाख २२ हजार ३९ को लागतमा निर्माण भएको प्रधानाध्यापक बिनाकुमारी शाहीले जानकारी दिइन् ।
“संघीय सरकार र प्रदेश सरकारमार्फत आएको बजेटले प्रशासनिक भवन, बहु प्राविधिक शिक्षालय भवन र आवासीय भवन निर्माण थालिएको थियो,” उनले भनिन्, “तीनवटै भवन निर्माण भएपछि आइतबार कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले उद्घाटन गर्नुभएको छ ।”
विद्यालयको उद्घाटन गर्दै पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भवनको अभावमा कोही पनि विद्यार्थी खुल्ला आकाशमा पठनपाठन गर्न बाध्य नहुने बताए ।
विद्यार्थीलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यले विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएको खाँडाचक्र नगरपालिकाका उपप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । “वैज्ञानिक, आधुनिक, व्यावसायिक, रोजगारमूलक र जनमुखी शिक्षा दिनुपर्छ भन्ने मान्यताका साथ प्राविधिक शिक्षाको सुरुआत गरिएको थियो,” उनले भने, “बहु प्राविधिक शिक्षालय र आवास निर्माण भएको छ । त्यसले यही विद्यालयमा बसेर विद्यार्थीले अध्ययन गर्ने वातावरण बनेको छ ।” रासस