Logo

ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा



प्लेयस डि तिजुआना (मेक्सिको), ७ माघ । डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गरेका छन् ।

“भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमा : पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भने ।

उनले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गरे तर स्पष्ट रूपमा उल्लेख गरेनन् । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् ।

आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उनले जानकारी दिए ।

“यदि उनीहरूले मेक्सिको फर्कने वा मेक्सिको आउने निर्णय गरे भने उनीहरूलाई यहाँ खुला हातले स्वागत गरिने छ”, सेनबमले भने ।

यद्यपि वामपन्थी राष्ट्रपतिले उनको पूर्ववर्ती एवं सल्लाहकार एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालमा ट्रम्पसँग ‘राम्रो सम्बन्ध’ भएको उल्लेख गरे ।

“त्यसैले हामी राम्रो समझदारीमा पुग्नेछौँ भन्ने मलाई लाग्छ”, सेनबमले भने, “तर जे भए पनि, यसलाई राम्ररी बुझियोस्, टाढासम्म सुनियोस : मेक्सिको कसैको उपनिवेश होइन, कसैको संरक्षित राज्य होइन ।”

आफ्नो कार्यालयमा फर्कने क्रममा ट्रम्पले मेक्सिकोलाई बारम्बार हप्काएको छ । साथै उनले मेक्सिकोले सीमा पार गर्ने अवैध आप्रवासी र लागूपदार्थको प्रवाह नरोकेसम्म संयुक्त राज्य अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरू मध्ये एकबाट आयातमा कडा शुल्क लगाउने धम्की दिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्