Logo

एमालेप्रति आक्रामक माओवादी, लेखा समिति सभापति पोखरेलको राजीनामा मागियो



काठमाडौं, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सरकारप्रति आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । संसद्को अधिवेशन बोलाउन सरकारले ढिलाई गर्दा माओवादीले विपक्षमा रहेका दलहरुलार्य एकसाथमा उभ्याएर तत्काल अधिवेशन बोलाउन दबाब दिएको थियो ।

अधिवेशन बोलाउन ढिलाई गरे विशेष अधिवेशन बोलाउने माओवादीको धम्की थियो । सरकारले हिजोमात्रै यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरि अधिवेशन बोलाउन सिफारिश गरेको थियो ।

शितलनिवासबाट सरकारको सिफारिशअनुसार सदनको अधिवेशन आह्वान भैसकेको छ । यता, संसदीय समितिहरुमा पनि माओवादीका सांसदहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

आज बसेको सार्वजनिक लेखा समितिको बैठकमा माओवादी सांसद राजन दाहालले सभापति ऋषिकेश पोखरेललाई राजीनामा दिन सुझाव दिएका छन् । माओवादीले यसअघिदेखि नै सार्वजनिक लेखा समितिको सभापतिको राजीनामा माग्दै आएको छ । राजन दाहालले पोखरेलमाथि पत्नी अञ्जला सहकारी ठगीमा मुछिएको विषय स्मरण गराएका थिए ।

माओवादी सांसदहरु संसद्मा आक्रामक रुपमा प्रस्तुत हुने बुझिएको छ । उनीहरुले सरकारले ल्याएको अध्यादेशको विरोध गर्ने भएको छ । खासगरी माओवादी सरकारको नेतृत्व गरिरहेको एमालेप्रति बढि आक्रामक छ । कांग्रेसप्रति भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नै नरम नीति लिएका छन् । उनी एमालेसँग कांग्रेसको सहकार्य तोडेर नयाँ समझदारी गर्न आँतुर छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाले भने तत्काल एमालेसँगको सहकार्य कुनै हालतमा नतोड्ने बताउँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्