काठमाडौं, ८ माघ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विपक्षी दलहरुको मोर्चामा सहभागी नहुने भएका छन् । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग सम्बन्ध नराम्रोसँग चिसिएको छ । प्रचण्ड नेतृत्वकै सरकारमा आफूपनि मन्त्री भएको बेलामा शक्तिको दुरुपयोग गरी आफ्नो दल विभाजन गरिएको भन्दै यादव प्रचण्डसँग अब सहकार्य नगर्ने निश्कर्षमा पुगेका छन् ।
उनले आफूनिकट नेताहरुसँगपनि प्रचण्डले आफूलाई पछाडिबाट छुरा हानेकोले अब कुनैपनि हालतमा सहकार्य नगर्ने अडान सुनाउने गरेका छन् । पछिल्लो समय यादवलाई फकाउनको लागि माधवकुमार नेपालले पनि पहल गरेका थिए ।
मोर्चाको संयोजकको जिम्मेवारीमा रहेका नेत्रविक्रम चन्दले पनि दौडधूप गरेका थिए । माधव नेपाल र विप्लव दुवैले तत्काल उपेन्द्र समाजवादी मोर्चामा नफर्किने ब्रिफ प्रचण्डलाई गरिसकेका छन् । सरकारविरुद्ध प्रचण्डले खडा गरेको विपक्षी मोर्चामा ८० सांसद जोडिएका छन् ।
तर, यादवले भने आफू समाजवादी मोर्चा र संसद्को विपक्षी गठबन्धनमापनि नजोडिने स्पष्ट सन्देश खुमलटारलाई पठाएका छन् । बरु, यादव यतिवेला बालुवाटारसँग नजिक छन् । आफ्नै पार्टी फुटाएर सरकारमा सहभागी भएको अशोक राई नेतृत्वसँग बरु उनको सम्बन्धमा चिसोपना देखिएको छैन् ।
उनी मधेश प्रदेशको सरकारमा कमब्याक गर्नको लागि पनि बालुवाटारसँग निरन्तर सम्वादमा रहेको बताईन्छ । यो बीचमा उनले भारत भ्रमण गरेका थिए । उनको भ्रमण के उद्देश्यले भएको थियो भनेर खुलाईएको छैन् । तर, उनले भारत बसाईको क्रममा अखिलेश यादवसँग भेटेको तस्विर बाहिरिएको थियो ।
हालै उनले मधेशका विभिन्न जिल्लामा पार्टीको अभियानसमेत चलाएका छन् । सो क्रममा उनले संविधान संशोधनको सवालमा पूरै पूनर्लेखनको आवाज उठाएका छन् । file photo