काठमाडौं, माघ ९ । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, सार्वजनिक लेखा समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपालमा हिउँदको समयमा हुने डढेलो प्रकोपको क्षति न्यूनीकरण पूर्वतयारीका सम्बन्धमा सरोकारवाला निकायहरूसँग छलफल हुँदैछ ।
यस्तै, बिहान ११ बजे नै बस्ने पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । यसैगरी, ११ बजे नै बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सिमेन्ट उत्पादन तथा बजार मूल्य सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुने संसद् सचिवालयले जनाएको छ ।