Logo

‘सुन फल्ने’ जमिन बन्यो गेग्य्रान बगर



महोत्तरी, १० माघ । महोत्तरीको गौशाला–८ कुष्माढीको सनीखोला किनारस्थित नदीउकास जमिन तीन वर्षअघिसम्म गेग्य्रान बलौटे खोलाको ढड्यान थियो । किसानको मेहनतले अहिले बालिनालीले हरियाली बनेको छ । दुबो पनि नमौलाउने गेग्य्रान अहिले जता हेर्‍यो उतै हराभरा छ ।

सनीखोलाले बहाव छोडेर उकासेको बगरमा कुष्माढीका भूमिहीन किसानले नङ्ग्रा खियाएका तीन वर्ष भएको छ । नदीले बहाव छाडेको नदीउकास बगरको एक सय एक बिघा जग्गामा अहिले थरिथरिका फलफूलका बोट बढ्दै छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले फलफूल रोपणमा किसानलाई सघाएको छ । यहाँ आँप, लिची र कागतीसहितका ११ हजार बोट हुर्कदै छन् । बगैँचाभित्र तरकारी बाली लहलह छ । यो बगरमा कुष्माढीका दुई सय एक भूमिहीन किसानको मेहनत छ ।

गौशाला नगरपालिकाले भूमिहीन किसानको परिवार सङ्ख्याका आधारमा चार कट्ठादेखि १० कट्ठासम्म जग्गा छुट्याइदिएपछि २०७८ को अन्त्यतिर खनजोत थालिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको समुन्नति कार्यक्रम, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र गौशाला नगरपालिकाको साथले किसानको हौसला बढेको छ ।

‘आलु लिने धेरैजसो खेतमै आइपुग्छन्’, आलुखेतीका किसान चन्द्रकला महरा भन्छिन्, ‘बगरखेती थालिकन गुजाराकै चिन्ता लिनुपरेको छैन ।’ बगरखेतीमा कुष्माढीका मुसहर, चमारसहितका गरिब दलित समुदाय र कोइरी, यादव र मगरसहितका जनजाति संलग्न छन् ।

गौशाला नगरपालिकाले नदीउकास क्षेत्रभित्रका चार किलोमिटर क्षेत्रभित्र विद्युतीकरण, दुई वटा डिपबोरिङ र सिँचाइका लागि छ वटा पोखरी निर्माण गरी दिएको छ । यसैगरी समुन्नति कार्यक्रमले मलका लागि गड्यौलाखेती गर्न सिकाएको छ । यसैगरी सामुदायिक विकास तथा पैरवी मञ्चले खेतीमा प्राविधिक र बीउबिजनको सहयोग गरेपछि आफूहरूलाई खेतीमा जाँगर बढेको किसान कामेश्वर महतो बताउँछन् ।

केही पहिलेसम्मका गरिब बगरखेतीले राम्रा किसान बनेका र उनीहरूको मेहनतले नदीउकास क्षेत्र हराभरा देखिँदा जग्गा बाँडिएको कुराले निकै सन्तोष दिने गरेको गौशालाका नगरप्रमुख डा. दीपेन्द्र महतो बताउँछन् । ‘किसानका साथमा नगरपालिका छ, मेहनत किसानले गर्छन्, साथ हाम्रो रहन्छ’, उनले भने ।



प्रतिक्रिया दिनुहोस्