काठमाडौं, १० माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल अहिलेको कांग्रेस र एमाले नेतृत्वको सरकार लामो नजानेमा ढुक्क छन् । उनले अहिलेको सरकार नै अप्राकृतिक भएको भन्दै यो लामो जान नसक्ने ठोकुवा गरेका छन् ।
यद्धपी अहिले आफू सरकार ढाल्ने खेलमा भने नलागेको उनको स्पष्टोक्ति छ । तर, उनले सरकार अब लामो नजाने भन्न छुटाएका छैनन् । प्रतिनिधिसभाको हिउँदे अधिवेशन बोलाउनको लागि पनि प्रचण्डले विपक्षीहरु एकजुट गरेर दबाब सिर्जना गरेका थिए ।
लगत्तै सरकारले हिउँदे अधिवेशन यही माघ १८ गते दिउँसो १ बजे बस्नेगरि आह्वान गर्न सिफारिश गरेको थियो । शितलनिवासले सरकारको सिफारिशबमोजिम संसद्को अधिवेशन आह्वान गरिसकेको छ । संसद्को नयाँ अधिवेशन सुरु हुनै लाग्दा प्रचण्डले सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिन थालेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नचल्ने दाबी गरेका छन् ।
उनले कांग्रेससँग भने नरम नीति लिएका छन् । कांग्रेसका नेताहरु शशांक कोइराला र डा. चन्द्र भण्डारीलाई सँगै राखेर चितवनमा समेत प्रचण्डले सरकार ढल्ने दाबी पेश गरेका थिए । प्रचण्डले ओली नेतृत्वको सरकार ढल्ने दाबी गर्दा कांग्रेस नेताहरु भने मुसुमुसु हाँसेका थिए । चितवनको दृश्यले सरकारमा भएका कांग्रेसकै मन्त्रीहरुले असहज मानेको चर्चा छ ।
नेपाली कांग्रेसको नेतृत्व पँक्ति भने अहिलेको सरकारलाई नै सफल बनाउने भनेर मरिहत्तै गररेर लागेको छ । प्रचण्डको सरकार ढल्ने अभिव्यक्तिलाई उनीहरुले हल्का रुपमा लिएका छन् । कांग्रेसमा यतिवेला शेखर कोइराला पक्ष भने अलिक बढि नै आक्रामक देखिएको छ । कोइराला पक्षधर नेताहरुले सरकार असफल भएको भनेर सार्वजनिक रुपमै टिप्पणी गर्न थालेका छन् । उनीहरुले सरकारले हालै ल्याएको अध्यादेशको समेत विरोध जनाएका छन् ।
शेखरले त संविधान संशोधनको लागि कुनै प्रक्रिया थालनी नगर्नुले पनि सरकार असफल भएको भनेर दलिल पेश गर्न थालेका छन् । कोइरालाले अहिलेको सरकारले संविधान संशोधन गर्दा अरु दलसँग अहिलेसम्म छलफल नगरेकोमा पनि आक्रोश पोखेका छन् । प्रचण्डले अहिले सरकारको असफलताको कारण जनतामा चरम निराशा छाएको टिप्पणी गर्ने गरेका छन् ।
आजमात्रै सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा दाहालले ओली सरकार अब धेरै पर नजाने दाबी पेश गरे । उनले भनेका छन्, नीतिगत रूपमा सरकारको आयु धेरै लामो छैन । जुन ढङ्गले सरकारको जन्म भयो त्यो लामो आयुको छैन, तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन ।’ file photo