काठमाडौं, १० माघ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले तीन तहको सरकार मिलेर आवश्यक्ताअनुसर विकास निर्माणका काम अघि बढाउने विश्वास दिलाएका छन् । उपप्रधानमन्त्री सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् । आज (बिहीबार) धादिङ लोकसांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठुलो भूमिका निर्वाह गरिरहेको हुन्छ, त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीेले साँस्कृतिक महोत्सवहरू मनाइरहनुपर्छ ।’ उनले भाषा, सँस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कला–सँस्कृतिलाई जीवन्त राख्नुपर्नेमा जोड दिए । लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म,सँस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको पनि बताउनुभयो । लोक सँस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा पनि गरे।
उपप्रधानमन्त्री सिंहले धादिङ जिल्लाको पूर्वाधार विकासमा संङ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए । उनले आवश्यक्तानुसार प्राथमिकतामा राखेर तीनै तहका सरकार मिलेर काम अघि बढाउने बताए । उनले भने,‘सबै काम एकैपटक हुँदैन । नागरिकका लागि जे बढी आवश्यकता छ त्यसलाई पहिला अगाडि बढाउँछौं ।’