काठमाडौं, १० माघ । पोखरा उद्योग वािणज्य संघको आयोजनामा आजबाट सुरु भएको ३३औं औद्योगिक व्यापार तथा आइटी मेलामा मधेश प्रदेशले पनि भाग लिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेको उक्त मेलामा मधेश प्रदेशको ‘घुमौं मधेश, बुझौं मधेश’ का संयोजक विकास ठाकुरको नेतृत्वमा स्टल राखिएको छ ।
मेलामा मधेशको प्रतिनिधित्व रहेको स्टल नम्बर–१ म आज एकैदिन पाँच सय भन्दा बढिले अवलोकन गरेका थिए । मधेश प्रदेशका विभिन्न ४० वटा पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यले स्टलमा बुकलेट नै वितरण गरिएको संयोजक ठाकुरले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
मेलाको उद्घाटन गरेका प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई संयोजक ठाकुरले मधेशको बारेमा जानकारी राखेर तयार पारिएको बुकलेट हस्तान्तरण गरेका थिए । सो अवसरमा मधेश प्रदशेको चर्चित नाँच भिझिया र थारु नाच पनि प्रस्तुत गरिएको थियो ।
मधेश प्रदेशको स्टल, प्रचारप्रसारको शैली र मधेशको संस्कृति झल्काउने नाँच प्रस्तुतीलाई लिएर मुख्यमन्त्री पाण्डे प्रभावित भएका थिए । उक्त मेलामा पोखरा महानगरका मेयर धनराज आचार्यले विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए भने पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले मेला उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका थिए । मेलामा देशव्यापी रुपमा विभिन्न संघ तथा संस्थाबाट प्रतिनिधित्व रहेको छ ।