Logo

सिद्धबाबा सुरूङमार्ग ब्रेक–थु भएपछि अर्थमन्त्री पौडेलको प्रतिक्रिया : सपना साकार हुँदैछ



काठमाडौं, ११ माघ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सिध्दबाबा सुरूङमार्ग ब्रेक–थु भएपछि सपना साकार भैरहेको प्रतिक्रिया दिएका छन् । उनले सिध्दबाबा सुरूङमार्ग बनाउने निर्णय गर्दा कतिपयले त्यसलाई हाँसोमजाक बनाएको पनि स्मरण गराएका छन् ।

उनले आफूहरुले मृत्यु मार्ग भनेर चिनिएको उक्त मार्गलाई जीवनमार्गमा बदल्ने अभियानमा अविचलित भएर काम गरेको र आज सुरूङमार्गको ब्रेक थ्रु सेलिब्रेसनको महत्वपूर्ण क्षणमा आइपुगेको पनि स्मरण गराएका छन् ।

उनले फेशबुकमा लेखेका छन्–

सिध्दबाबा सुरूङमार्गको सपना साकार हुँदैछ !

बर्षातमा मात्र होइन हिउंदमा समेत पहिरो खसेर कैयौंको ज्यान लिएको सिद्धबाबाको कुहीरे भीरले हामीलाई बर्षौं दुःख दियो । अत्यन्त असुरक्षित यो सडकलाई सुरक्षित बनाउने थुप्रै विकल्पमा हामीले छलफल गर्यौं । देश,विदेशका विज्ञ प्राविधिकहरुसहितको विस्तृत अध्ययनबाट अन्त्यमा हामी सुरुङ्मार्ग निर्माणको निर्णयमा पुग्यौं । तर कतिपयले यसलाई हांसो मजाकको विषय बनाए । चुरे भीरमा सुरुङमार्ग सफल हुनै नसक्ने जिद्दी गरे । बजेट सक्न खोजेको आरोप लगाए । तर हामी मृत्यु मार्गलाई जीवनमार्ग बदल्ने अभियानमा अविचलित भएर लागिरह्यौं । फलस्वरुपः आज हामी यस सुरूङमार्गको ब्रेक थ्रु सेलिब्रेसनको महत्वपूर्ण क्षनमा आइपुगेका छौं ।

आफैले देखेको सपना सोंचे भन्दा चांडै पुरा हुन लाग्दा हामी हर्षविभोर छौं । त्यो भन्दा ठूलो हर्ष नेपालमा सडक सञ्जालहरुलाई सुरुङमार्गहरुले जोड्ने तहमा हामी आइपुगेका छौं । सिद्धवावाको यो सुरुङमार्ग अब छोटो समयभित्रै सञ्चालनमा आउनेछ, यात्रुहरुले सुरक्षित यात्रा गर्नेछन् र यही सुरुङमार्गबाट पसेर हजारौं, लाखौं यात्रूहरू, पर्यटकहरु पाल्पा हुंदै पोखरा लगायतका पहाडी र हिमाली क्षेत्रमा प्रस्थान गर्नेछन् ।

खुसीको यस क्षणमा सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्डमा सुरूङमार्ग निर्माण गर्न हामीलाई मार्गदर्शन / निर्देशन गर्नुहुने सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक सम्मान ब्यक्त गर्दछु ।



प्रतिक्रिया दिनुहोस्