काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘भर्चुअल’ माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ‘ब्रेक थ्रू’ भएको छ ।
‘ब्रेक थ्रू’ भएसँगै राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक हजार एक सय २६ मिटर सुरुङमार्ग छिचोलिने काम सम्पन्न भएको छ ।
प्रधानमन्त्री ओलीको विशेष उपस्थितिमा आज सो सुरुङमार्गको ‘ब्रेक थ्रू’ गर्ने कार्यक्रम भएकामा स्वास्थ्य प्रतिकूलताका कारण प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल माध्यममार्फत उनी सो कार्यक्रममा सरिक भएका हुन् ।
प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट सुरङमार्गको ‘ब्रेक थ्रू’ गर्दै पहिरोले गाडी दुर्घटना हुने र जनधनको क्षति हुने पीडाबाट यात्रीहरुलाई राहत दिन सो सुरुङमार्ग एक सफल आयोजना सावित हुने विश्वास व्यक्त गरे । उनले सो सुरुङमार्गबाट लाभ लिइ राजमार्गको सहज आवागमन, सामाजिक एवं आर्थिक सम्बन्ध विस्तार र उत्पादन आदानप्रदान गर्न शुभकामना दिए ।
यसअघि त्रिभुवन राथपथअन्तर्गतको थानकोट–नागढुङ्गा सुरुङमार्ग ‘ब्रेक थ्रू’ भएको र नेपाल सुरुङयुगमा प्रवेश गरिसकेकाले त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य भई सहज र छोटो मार्गबाट यात्रा गर्नसक्ने स्थितिमा मुलुक पुगेको प्रधानमन्त्री ओलीले बताए ।
“सुरुङमार्ग ब्रेक थ्रू हुनु सिङ्गै देशका लागि खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको समयमा हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ देश । फाइदा हुने कामकुराहरुमा सरकारको ध्यान जानेछ । हाम्रा प्रयासहरु सदैव यसैतर्फ केन्द्रित छन् ।”
कार्यक्रम स्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।रासस