इलाम, माघ १२। सूर्योदय नगरपालिकाले २०७६ साउन ४ गते अगुवा अग्र्यानिक तरकारी कृषकका रुपमा सम्मान गरेपछि सूर्योदय–१२ का मदनकुमार राईलाई व्यावसायीक कृषिकर्म गर्न थप ऊर्जा मिल्यो ।
‘अनुदान भन्दापनि प्रोत्साहन ठुलो रहेछ ।’ उनले भने, ‘कृषिमै रमाएको त तीन दशक बित्यो । तर, पालिकाले उत्कृष्ट कृषकका रुपमा सम्मान गरेपछि मलाइ थप व्यवसायीक बन्न ऊर्जा मिलेको हो । टनेल र अन्य बिउ बिजनमा अनुदान पनि पाएँ ।’
उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । जहाँ अकबरे, काँक्रा, आलु, कागती, टमाटर, बन्दा कोपी, एभोकाडो, चिया र कफिको व्यवसायीक खेती भइरहेको छ । राईले यस पटक आठ रोपनी क्षेत्रफलमा रोपण गरेको दश हजार बोट अकबरेबाट २३ लाख आम्दानी गरे ।
राईले भन्छन्,’फल सात लाखको बिक्यो । प्रतिकेजी ३५ हजारदेखि ५० हजारका दरले ४० केजी बियाँ बिक्री गर्दा करिब १६ लाख आम्दानी भयो । अकबरेले यो वर्ष २३ लाख आम्दानी गरेको छ । ‘
उनले उत्पादन गरेको अकबरे सामान्यतया कोसेलीका रुपमा बिक्री हुन्छ । उनलाई माग धान्न मुस्किल छ । भन्छन्,’फलभन्दा बढी बियाँ बिक्री हुन्छ । अचार बनाउन कोसेलीका रुपमा नेपाल र ईन्डियामा खपत भइरहेको छ । भारतबाट दैनिक पचास केजीको माघ छ । देशभरिबाट हाल ३० केजी बियाँको माघ छ । तर, न फल–न बियाँ दुबैको माघ पुरा गर्न सकिएको छैन ।’
अकबरे मात्र होइन राईले यसवर्ष छ रोपनी जमिनमा काँक्रा खेती लगाएका थिए । उनले २० हजार केजीका दरले १६ केजी काँक्राको बियाँ बिक्री गर्नुभयो । ‘काँक्राको फल चैँ बेच्दिन । यसो हटिया खर्च धान्नलाई दुई चार क्विन्टल बिक्छ ।’ उनी भन्छन् ।
काँक्रामा डाउनी मिल्ड्यू र पाउडरे मिल्ड्यू रोगले समस्या ल्याएको छ । काँक्रामा पात पहेँलो हुने र बोट हुर्कन नदिने समस्या देखिएको छ भने अकबरेमा थुप्रै समस्या आउन थालेका छन् । ‘जरादेखि मास्तिर माटो छेउको खुल्ला आकासे भागमा कुहिने र ओइलिएर मर्ने विकराल समस्या अकबरेमा देखापरेको छ ।’ उनले भने,’एन्थ्रा कनोज नामको रोगले फलमै कालो धब्बा आउन थालेको छ । बारी सुद्ध गर्नु र खेतीलाई अग्र्यानिक बनाउँदा समस्या समाधान हुन्छ ।’
याम अनुसारको खेती गरेर मनग्गे आम्दानी लिइरहेका राई दम्पत्तिले अकबरे र काँक्रा बाहेक आलु, कागती, एभोकाडो, चिया र कफिको समेत व्यवसायीक खेती गरिरहेका छन् ।
‘पाँच मन(प्रति मन ४० केजी) आलु रोपेका छौँ ।’ मदनकी श्रीमती चन्द्रमाया राईले भन्छिन्, ‘नौ रोपनीमा दुई सय ५० बोट कागती छन् । पोहोर साल एक लाख २० हजारको बेचेका थियौँ । यो वर्ष एक लाख ८० जत्तिको हुन्छ होला । कागती केजीको दुईले बिक्दैछ । ‘
उनीहरुले एभोकाडो लगाएको तीन वर्ष भयो । चन्द्रमाया भन्छिन्, ‘१३ रोपनीमा तीन सय बोट एभोकाडो छ । तर, उत्पादन दिन थालेको छैन । अब दुई वर्षपछि आम्दानी सुरु हुन्छ ।’ अन्य खेती गर्न भ्याईनभ्याई हुने राई दम्पतिले ११ रोपनीको चियाबारी भने ठेक्कामा दिएका छन् ।
‘चियामा अलिक अलमल हुन्छ । धाईरहनु पर्छ । त्यै भएर अरुलाई दिएको । उनिहरुले ठेक्का बुझाउँछन् । ‘मदन भन्छन्, ‘अब कफि लगाउने योजनामा छु । चार सय बिरुवा ल्याइसकेँ । जम्मा एक हजार रोप्ने तयारी छ । यो चैँ मेरो पेन्सनजस्तै पछि बुढेसकालमा बेचिखाने ।’
मदनलाई बारीको तल्लो भेगतिर बाँदरले दुःख दिन थालेको छ । अब, बाँदर पन्साउन उनले टमाटर र बन्दा कोपीको खेती लगाउँदै छन् । ‘फागुन लागेपछि १५ हजार बन्दा र तीन हजार टमाटर रोपेर बाँदर आतङ्क हेर्नुछ ।’ उनको ७० रोपनी जमिनमध्ये ५५ रोपनी खेतियोग्य छ । ‘अझै २० रोपनी थपौँ भनेको बच्चाले मानेनन् । अब बजारमा घडेरी जोड्नुपर्छ भन्छन्, ‘उनले भने ।
घरमा मदन र उनकी श्रीमती चन्द्र मात्र बस्छन् । बारीमा काम गर्ने दिनहुँजसो चार जना खेताला हुन्छन् । छोरी स्वेच्छा इलाम विव्ल्याँटेस्थित प्राइम बैँककी कर्मचारी छिन् । छोरा धनकुटाको पाख्रिबासमा बिएससीएजि सातौँ सेमेस्टरमा अध्ययनरतछन् ।
‘धेरै काम परेको दिन २० जना पनि खेताला हुन्छन् । सिस्टममा गएर काम गर्दा ५०–५५ रोपनीमा खेती गर्न धेरै जनशक्ति लाग्दैन । तर, काम चैँ सिस्टममा गर्नुपर्यो ।” मदन भन्छन्, ‘“वर्षमा खर्च कटाएर १२–१४ लाख बचत हराउँदैन ।’ राईको गोठमा दुई माउ गाई छन् । ‘गाईको मल मुत्रले खेती अग्र्यानिक बनाउँन सहयोग मिल्छ । गोबरभन्दा गहुँद बढी उपयोगी हुन्छ ।’उनले भने ।
उनी कृषक मात्र होइन कृषि विज्ञ पनि हो । नगरपालिकाले आयोजना गरेका धेरै तालिममा गएर उहाँले अन्य किसानलाई कृषि समस्या, चुनौती र सम्भावनाका बारेमा जानकारी गराउँछन् ।
सूर्योदय नगरपालिकाले मदनजस्ता सफल र व्यवसायीक किसानलाई प्रोत्साहित गर्दै आएको छ । विभिन्न कार्यक्रमको अवसरमा उत्कृष्ट किसानको रुपमा सम्मान गर्ने गरिएको नगरप्रमुख रणबहादुर राईले बताए किसान लक्षित थुप्रै अनुदानका कार्यक्रम छन् । यहीँ रहेर व्यवसायीक खेती गर्ने मदन जस्ता किसानका लागि नगरपालिका सँधै साथमा रहेको नगरप्रमुख राईले बताए ।
‘ऊर्जा, जोस र जाँगर लिएर पालिकाभित्रै व्यवसायीक बन्न चाहाने कृषकलाई हामीले सकेसम्म अनुदान नै दिईरहेका छौँ । ‘उनले भने, ‘सूर्योदय पर्यटन र कृषिबाट नै आर्थिक समृद्धि हाँसिल गर्ने लक्ष्य लिएर अघि बढेको पालिका हो । यहाँका सबै किसान मेहेनती हुनुहुन्छ ।’ रासस