Logo

शेखर कोइराला समूहलाई प्रचण्डले विभाजनको तहसम्म उकासिरहनुभएको छ : महेश बस्नेत



काठमाडौं, १२ माघ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ताको लागि फरक फरक धारमा उभिएका वैदेशिक शक्तिहरुसँग फरक फरक ढंगले डिल गरिरहेको आरोप लगाएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो गम्भीर आरोप लगाएका हुन् ।

उनले भने,‘पहिलो कुरा अहिले प्रचण्ड र उहाँको पार्टी नै संकटको भूमरीमा अल्झिएको बेलामा उहाँले आफ्ना कार्यकर्ता र राजनीति जोगाउनको लागि यस्ताखालका प्रोपोगाण्डा ल्याईरहनुभएको छ । अब सत्ताको लागि उहाँले फरक फरक धारमा उभिएका वैदेशिक शक्तिहरुसँग पनि फरक फरक ढंगले डिल गरिरहनुभएको सुनिन्छ । नेपाली कांग्रेसभित्र पनि उहाँले शेखर कोइराला टिमलाई पार्टी विभाजन गर्ने तहसम्ममा उकासिरहनुभएको छ । यता, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई पनि प्रधानमन्त्रीको लड्डु देखाईरहनुभएको छ ।’

सत्ताबाट बाहिरिएलगत्तै समाजवादी मोर्चा ब्युँताएर खेल खेलेको भएपनि उपेन्द्र यादवले साथ नदिएको बस्नेतको दाबी छ । उनले माधव नेपालको दल विभाजनको मुखमा रहेको सुनाए । उनले भने,‘माधव नेपालको पार्टी त जति मन्त्री दिईयो, त्यति नै जनाले पार्टी फुटाउने कुरा छ ।’ उनले प्रचण्डले अहिलेको सत्ता ढाल्छु र केपी ओलीलाई सत्ताबाट बाहिर पुर्याउँछु भन्नु हाँस्यास्पद भएको टिप्पणी गरे ।

उनले प्रचण्डहरुलाई बैंक लुटेर आएको समूह र रवि लामिछानेहरुलाई सहकारी ठगेर आएको समूहको संज्ञा दिए । उनले माओवादी नेतृत्वको सरकार हुँदा उठाइएका कुनैपनि काण्डमा प्रमाण पुग्ने स्थिति नदेखिएको भन्दै पशुपतिको जलहरी काण्ड स्मरण गराए । उनले प्रचण्डले अहिलेको कांग्रेस–एमालेको बलियो सरकार ढाल्छु भन्नु ‘फट्यांग्राले मुसा मार्छु’ भनेजस्तै भएको टिप्पणी गरे ।

उनले भने,‘३२ सिटको प्रचण्डले कांग्रेस र एमालेको झण्डै दुई तिहाईको सरकार ढाल्छु भन्ने कुरा यो सम्भव देखिन्न । एमाले र कांग्रेसको आन्तरिक द्धन्द्ध अलिक नै बढि भएको बेला उहाँले १८ महिना सरकार चलाउनुभयो, तर उहाँले त्यसलाई यो म्याजिक नम्बर हो भनेर घमण्ड गर्नुभयो, त्यो बुझेपछि कांग्रेस र एमाले एक ठाउँमा आएर दुधको तरमा परेको झिंगा फालेझैं फालिनदिनुभयो ।’



प्रतिक्रिया दिनुहोस्