Logo

राप्रपा कुनै एकजनाको पार्टी होईन, म कहिल्यैपनि पार्टी छोड्दिनँ : जबरा



काठमाडौं, १२ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबराले पार्टीलाई सही तवरले अघि बढाउनको लागि आफूले केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक विचार पेश गरेको स्पष्ट पारेका छन् । उनले पार्टी अध्यक्षले नै पार्टी फुटाउन खोजियो भनेर भन्न नहुने कुरा आफूले सचेत गराएको पनि स्पष्ट पारे ।

आज (शनिबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिलेको व्यवस्था फाल्नको लागि आन्दोलनको लागि तयारी अवस्थामा रहनुपर्ने बताए । उनले राप्रपा एकजनाको मात्रै पार्टी नभएर यसमा सबैको रगत र पसिना लागेकोले एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले आफूले पटक पटक अध्यक्ष राजेन्द्र लिङ्देनलाई एकताबद्ध बनाउन सम्झाउने काम गरेको र पटक पटक भेटेको स्मरण गराए । उनले आफूले व्यक्तिगत स्वार्थ नराखी सबैलाई साथमा लिएर जाने व्यक्ति भएको सुनाए । उनले आफूले कहिल्यैपनि पार्टी नछोड्ने दाबी गरे ।

उनले पार्टीभित्र आफ्नो विचार राख्ने सबैलाई छुट भएकोले प्रश्न राख्दैमा कारबाही हुने कुरा प्रश्न नै नआउने टिप्पणी गरे । उनले भने,‘म यो पार्टीको निर्वाचित महामन्त्री हुँ, म जहिल्यैपनि यो पार्टीको हितमा बोल्छु । पार्टीकै एजेण्डालाई अघि बढाउनको लागि लागिपर्छु । उहाँले मलाई नस्विकार्ने त कुरै आउँदैन् ।’ file photo



प्रतिक्रिया दिनुहोस्