Logo

दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाईयो, सरकार सबै मोर्चामा असफल भैसक्यो : प्रभु साह



चितवन, १२ माघ । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा असफल भईसकेको दाबी गरेका छन् । उनले अहिलेको सरकारको तत्काल विकल्प खोज्नुपर्ने बताए । साहले प्रधानमन्त्री केपी शर्मा ओलीको बोली, व्यवहार र काम मुलुकलाई अध्याँरोतर्फ धकेलिनेखालको भएको टिप्पणी गरे ।

चितवनको भरतपुरमा आज (शनिबार) आजपानिकटको आईटी आर्मीको जिल्ला भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सुशासन कायम गर्न र आर्थिक सुधार गर्ने सवालमा सर्वाधिक असफल भएको ओली सरकारको विकल्प खोज्न ढिलाई गर्न नहुने बताए ।

‘संविधान र संसद्ले नचिन्ने राजनीतिक संयन्त्रको आतंक बन्द गर्नुहोस् । दुई तिहाईको दम्भ भ्रष्टाचारी जोगाउने आधारस्तम्भ बनाइएको छ । आवरणमा संविधान संशोधन भनियो, तर व्यवहारमा संविधानको चीरहरण गरियो,’ आजपा अध्यक्ष साहले भने,‘ओली सरकारले अध्यादेश अघि अघि अनि संसद् पछि पछि बोलाउँने काम गर्दै राज्यको ढुकुटी लुटने काम गरिरहेको छ । विचौलियाको सेटिङमा बनेको सरकार विचौलियाकै लागि काम गरिरहेकोछ ।’

वर्तमान सरकार नेपाली जनताको लागि ट्युमर पलाएकोजस्तो भएको टिप्पणी गर्दै उनले यसको विकल्प नेपाली जनताले खोजिरहेको बताए । अहिलेको सरकार बनेपछि नेपालको विदेश सम्बन्ध पनि धुमिल बनेको उनको आरोप छ । उनले बीआरआई फ्रेमवर्क सम्झौता ऋणको पासो त होईन भन्ने बहस छेडिएको समेत चर्चा गरे ।

‘विपीको सिद्धान्त बोकेको नेपाली कांग्रेस र मदन भण्डारीको लिगेसी भएकाहरु किन केपी ओलीको सती जान लागेको हुन् ? मलाई आश्चर्य लागेको छ । चीन खुशी पार्ने बहानामा भारत र अमेरिका चिढ्याउने काम नहोस, नत्र चीन भ्रमणमा ताईवानको विषयमा किन बोलियो ?’ साहले भने ।

विचौलियाको सेटिङमा बनेको वर्तमान सरकार अप्राकृतिक, अलोकतान्त्रिक र सिद्धान्तविपरित भएको उनले बताए । ‘यो सरकारको जन्म नै अप्राकृतिक, अलोकतान्त्रिक छ । विश्वभरि यतिवेला प्राकृतिक हावा चलेको छ । नेपालमा मात्रै अप्राकृतिक हावा बहन कसरी सम्भव छ ? सरकारको जन्म नै विचौलियाको घरमा भएपछि यसले ती अभिजात विचौलिया र भ्रष्टहरुको सेवा गर्छ भन्नेमा हामी जानकार थियौं । तर, यो देशका सचेत नागरिकले अबपनि देशको अवस्था अनि कांग्रेस र एमालेको लुट हेरेरमात्रै बस्ने हो त ? कि सचेत विद्रोहको लागि तयार हुने हो, म यही मञ्चबाट प्रश्न गर्न चाहन्छु ?’ उनले भने ।

दलतन्त्रको पहिलो सिकार नेपाली निमुखा जनता भएको बताउदै उनले दुई दलीय शासनको दिवालीयाले शंकर पोखरेल र गगन थापाहरु हौसिएको टिप्पणी गरे । उनले भने,‘यिनीहरु अहिले कहिल्यै नभएको विकास एक महिनामा गर्ने भनेर अध्यादेशको धमाश अनि शासनको धक्कु लगाउन थालेका छन् । यी पात्रसँग जोडिएका विज्ञहरुको अनुहार हेर्न जरुरी छ ।’ उनले जननिर्वाचित थलो संसद्लाई छलेर साँढे बनेर चल्ने दुस्साहस नगर्न पनि उनले सत्ता गठबन्धनका नेताहरुलाई चेतावनी दिए ।

‘अब यिनीहरुलाई सडकमा फाल्न जरुरी छ । आफ्ना भ्रष्टहरुलाई जोगाएर सरकार गन्हाइसकेको छ । यसले लुटतन्त्रको सेल्रिवेशन गरिरहेको छ । यो सरकार भगौडा दलाल र भूमाफियाको सेवामा हाजिर छ । त्यसको प्रभाव हालै आएका अध्यादेशको अनुहार र अन्तर्य हेर्दा थाहा हुन्छ । ती स्वार्थ बाझिएर आएका अध्यादेश सुरुमा कसले स्वागत गरे ?,’ आजपा अध्यक्ष साहले भने, ‘खुलमखुला बालुवाटारमा भूमाफियाहरुले भूमिसम्बन्धी अध्यादेशको स्वागत गरेका छन् । देशमा रोजगारी सिर्जना गर्न कुनै योगदान नदिने उल्टै नेपाली जनतालाई लुटेर पैसा रातारात विदेश पुर्याउनेहरुले नै अध्यादेश शासनको धुँवादार वकालत गरेका छन् । कांग्रेस र एमालेको अन्तिम लुटको भोजन खानेहरुलाई मुख मिठो भएको होला । तर, गरिखाने जनतालाई अहिलेको शासन र सत्ता नमिठो लाग्न थालिसकेको छ ।’

उनले आजपाले तेस्रो जनआन्दोलनको उदघोष र ऐलान गरिसकेको बताउदै देश पछि फर्काउने नभई अगाडी बढाउने बताए । ‘यसअघिका आन्दोलनले नेता मोटाए, पार्टीहरु सुन्निएर अर्वपति बने । तर, निमुखा जनता जहाँको त्यहीँ रहन बाध्य छन् । हजारौं युवाहरुलाई खाडीमा बेचिएको छ, देश रित्तियो,’ साहले भने, ‘यहाँका उच्चपदस्थहरुले पनि लुटेर सम्पत्ति विदेश पुर्याउने काम गरेका छन् । यो देवता र मानवताको भूमिमा ठूलो अन्याय र अत्याचार भएको छ । कर आतंक उस्तै छ । पाइला पाइलामा भ्रष्टाचार छ । बेथित छ, विसंगति छ । हामीले हामी जन्मिनुको श्रेष्ठता देखाउने बेला आयो । अब निर्णायक विद्रोहको विगुल फुकौं । आफू मालिक बन्ने शासन ल्याउनको लागि जनताले एकपटक निर्णायक आन्दोलन गर्ने बेला आएको छ । हामीले भन्दै आएका छौं, यसअघि लड्यौं पटकपटक अब लडौं आफ्नै लागि एकपटक भनेको छौं । यसमा तपाईंहरुको सक्रिय भूमिकाको जरुरी छ ।’

आईटी आर्मीका जिल्ला अध्यक्ष नितेश साहको अध्यक्षतामा भएको भेलामा आजपाका नेताहरू त्रिभुवन साह, चन्द्रभुषण साह, उमेश कुशवाहालगायतको विशेष सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्