Logo

बाढीले थुपारेको गेगर हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन सहयोग गर्दै नगरपालिका



खोटाङ, माघ १३ । हलेसी तुवाचुङ नगरपालिकाले गत असोज १२ गते सुनकोशीमा आएको भीषण बाढीले किसानका खेतमा थुपारेको गेगर पन्छाउन सहयोग सुरु गरेको छ । बाढीले थुपारेको बालुवा, गिट्टी र ढुंगा हटाएर पुनः खेती गर्न योग्य जमिन बनाउन नगरपालिकाले किसानलाई सहयोग गरेको हो ।

सुनकोशीमा आएको भीषण बाढीले हलेसी तुवाचुङ नगरपालिकाको वडा नं २ डिकुवा, वडा नं ८ धितुङ र वडा नं ११ राजा पानीका करिब एक सय ५० घरका स्थानीय किसानको करिब दुई सय ५० रोपनीभन्दा बढी खेत खण्डहर बनाएको छ । धितुङ र राजा पानीको सिमानामा पर्ने भाड बेँसीका मात्रै ६० घर किसानको एक सय ५० रोपनीभन्दा बढी खेतीयोग्य जमिन बाढीले ल्याएको गेगरले पुरिएको स्थानीयले बताएका छन् ।

भीषण बाढीका कारण पूर्ण क्षति बेहोरेका राजा पानीका ३१ घर किसानलाई गत असोजमै नगरपालिकाले रु. सात हजारको दरले राहत प्रदान गरेको थियो । आंशिक क्षति भएका किसानको भने खेतबारीमा थुप्रिएको गेगर नगरपालिकाको तर्फबाट जेसिबी लगाएर पन्छाइदिने निर्णय भएको थियो ।

भीषण बाढीले बगाएर ल्याएको गेगरले पुरिएका किसानको खेतबारीलाई पूर्ववत अवस्थामा फर्काएर खेती लगाउने वातावरण सृजना गर्न नगरपालिकाले जेसिबी प्रयोग गरेर बालुवा, गिट्टी र ढुंगा हटाइरहेको नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । पूर्ण क्षति व्यहोरेका र आंशिक क्षति व्यहोरेका किसानको खेतबारीमा थुप्रिएको गेगर हटाउन नगरपालिकाले जेसिबी र आवश्यक डिजेल तथा अफ्रेटर उपलब्ध गराएको जनाइएको छ ।

असोजमा गएको भीषण बाढीले एउटै किसानको १५–२० रोपनी खेतबारी पुरिएको पाइएको नगरपालिकाले जनाएको छ । सुक्खा ग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाको सुनकोशी आसपासका क्षेत्र खेतीयोग्य जमिनमा पर्दछ ।

गत असोज १२ गते अस्वभाविकरुपमा आएको भीषण बाढीले सुनकोशी आसपासका किसानलाई उठीबास बनाएकाले उनीहरूलाई पुनः स्थापित गराउन खेतबारीमा थुप्रिएको गेगर हटाउन सुरु गरिएको नगरप्रमुख विमला राईले बताइन् । “असोज १२ गते आएको भीषण बाढीले हाम्रो नगरपालिकामा ठूलो क्षति गरेको छ । सबैभन्दा बढी सुनकोशी आसपासका किसानकाको खेतबारीमा क्षति गरेको छ । उनीहरूमध्ये केहीलाई राहतसमेत उपलब्ध गराएका छौँ”, उनले भनिन्, “बाढीले क्षतिग्रस्त बनेको अधिकांश ठाउँमा बाँध हाल्नुपर्ने अवस्था देखिएको छ । त्यो काम नगरपालिकाबाट सम्भव छैन । त्यसका लागि माथिल्लो तहमा सिफारिस गरेका छौँ । तत्कालका लागि खेती गर्ने वातावरण मिलाउन नगरपालिकाको तर्फबाट गेगर हटाउने काम सुरु गरिएको छ ।”

पहिलो चरणमा भाँड बेँसीबाट सुरु गरिएको गेगर हटाउने काम क्रमशः रेग्मीटार हुँदै सबै ठाउँका किसानको खेतबारीमा गएर हटाइदिने नगरपालिकाले जनाएको छ । एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा बाढी तथा पहिरोले दर्जनौँ घर तथा विद्यालयमा क्षति गरेको थियो ।

चाडपर्वको पूर्वसन्ध्यामा आएको भीषण बाढी पहिरोले घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री गुमाएर विस्थापित भएका उनीहरूमध्ये कतिपयले आफन्त, छिमेकी, विद्यालय तथा सार्वजनिक स्थलमा बसेर दसैँ मनाएका थिए । बाढी पहिरो विस्थापितलाई नगरपालिकाले राहतस्वरुप उपलब्ध गराएको सामान्य खानाका लागि दाल, चामल र नुन तेल तथा बस्नका लागि कम्बल र तन्नाबाहेक केही छैनन् ।



प्रतिक्रिया दिनुहोस्