Logo

वीरगञ्ज नाकाबाट छ महिनामा निर्यात बढ्यो



वीरगञ्ज (पर्सा), १३ माघ । वीरगञ्ज भन्सार नाकाबाट चालु आर्थिक वर्षको छ महिनामा २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव २०८०/८१ को छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको छ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकीमुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए ।‘‘गत आवको तुलनामा चालु आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’’ उनले भने,‘‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झण्डै दोब्बर भएको हो ।’’

गत आवको छ महिनामा यो नाका हुँदै १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्य बराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालु आवको छ महिनामा वस्तु तथा सामान निर्यात गरेवापत १७ करोड ६६ लाख ६३ हजार राजस्व सङ्कलन गरेको थियो ।

गत आवको सोही अवधिमा निर्यात गरेवापत भने १० करोड तीन लाख ८१ हजार राजस्व सङ्कलन गरेको थियो । वीरगञ्ज नाका हुँदै विशेषगरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।

वीरगञ्ज नाका हुँदै चालु आवको छ महिनामा दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको छ महिनाकै अवधिमा भने दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालु आवको सोही अवधिमा आयात पनि छ दशमलव ४५ प्रतिशतले बढेको छ । रासस



प्रतिक्रिया दिनुहोस्