Logo

दुई वर्षअघि निर्मित सार्वजनिक शौचालय प्रयोगविहीन



कञ्चनपुर, १३ माघ । शुक्लाफाँटा नगरपालिका–६ वनसमिति बजारमा दुई वर्षअघि निर्माण गरिएको शौचालय प्रयोगविहीन भएको छ । पाँच लाखमा ठेक्का प्रक्रियामार्फत निर्माण गरिएको शौचालयमा ट्याङ्की राखिए पनि पानीको व्यवस्था नहुँदा प्रयोगमा आउन नसकेको हो ।

“पानीको व्यवस्था गर्न नल्का (धारा) मा जडान गरिएको विद्युतीय मोटरसहित नल्का चोरी भएपछि निर्माण भएको शौचालय प्रयोगमा आउन सकेको छैन”, शुक्लाफाँटा–६ का वडाध्यक्ष दानसिंह ऐरले भने, “शौचालयमा रङ्गरोगन गरिएको छैन, शौचालयसम्म पुग्ने बाटो, घेरबार केही छैन । निर्माण मात्रै भए पनि प्रयोगमा ल्याउन सकिएको छैन ।” वडासँगै थोरै बजेट हुँदा शौचालय प्रयोगमा ल्याउन नसकिएको उनले बताए । 

नगरपालिकासँग पटक–पटक शौचालय सञ्चालनमा ल्याउनका लागि बजेटको व्यवस्था गर्न गर्दै आए पनि हालसम्म सुनुवाइ नभएको ऐरले उल्लेख गरे । पुरुष र महिला दुवैका लागि प्रयोग गर्न मिल्ने गरी शौचालय निर्माण गरिएको छ । 

पूर्ववडाध्यक्ष जगता रानाले शौचालयलाई तत्काल प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । बजारका बासिन्दासँगै यात्रुहरूले सास्ती खेप्नु परेकाले निर्माण गरिएको शौचालयलाई प्रयोगमा ल्याउन नगरपालिकाले पहल गर्नुपर्ने उनको भनाइ थियो । 

वनसमिति बजारको पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको स्थानमा शौचालय निर्माण भए पनि यथाशीघ्र प्रयोगमा आउनुपर्ने स्थानीय बताउँछन् । सार्वजनिक शौचालयको अभावमा यात्रुहरूले नजिकैको वन क्षेत्रमा दिसापिसाब गर्न जानुपर्ने बाध्यता छ । रासस



प्रतिक्रिया दिनुहोस्