Logo

भानु नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्या निकुञ्जलाई



डुम्रे (तनहुँ), १३ माघ । यहाँको भानु नगरपालिकास्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विद्या निकुञ्ज माध्यमिक विद्यालयले जितेको छ ।

भानु–९ काउरेटारस्थित खेलमैदान भएको प्रतियोगितामा विद्या निकुञ्जले छ स्वर्ण, एक रजत र दुई कास्य गरी नौ पदकसहित उपाधि जित्न सफल भएको हो । भानु–९ डुम्रीखर्कस्थित कालिका माध्यमिक विद्यालयले पाँच स्वर्ण, छ रजत र चार कास्य गरी १५ पदक प्राप्त गरी द्वितीय स्थान प्राप्त गरेको छ । भानु–९ बाइसजागरस्थित कर्मदा माध्यमिक विद्यालयले चार स्वर्ण, तीन रजत गरी सात पदक प्राप्त गर्दै तृतीय भएको छ ।

प्रतियोगितामा २४ विद्यालय सहभागी थिए । ३० स्वर्ण पदक रहेकामा ११ विद्यालयले स्वर्ण पदक जित्न सफल भएका छन् । विद्या निकुञ्जले रनिङ सिल्डसहित नगद पुरस्कार २५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ध्रुवराज पौडेलले जानकारी दिए ।

त्यसैगरी कालिकाले २० हजार, ट्रफी र प्रमाणपत्र तथा कर्मदाले १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा विजेता विद्यालय तथा विद्यार्थीलाई नगर प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामेलगायतले पुरस्कार प्रदान गरेका थिए ।

नगर प्रमुख त्रिपाठीले प्रतियोगिताले बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासित बनाउने बताए । उनले भने, “खेलकुदको माध्यमबाट बालबालिकालाई प्रोत्साहन पनि मिल्नेछ ।” रासस



प्रतिक्रिया दिनुहोस्