काठमाडौं, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वरिष्ठ नेताहरुलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्न अनुरोध गरेकी छिन् । पार्टी सभापति रवि लामिछानेमाथि सरकारले दुषित मनसाय राखेर अभियोजन गरिराखेको सम्झाएकी गौतमले सरकारमा रहेका शीर्ष नेताहरुले खुल्लमखुल्ला भाषणहरुमा रवि लामिछानेलाई अदालतको फैसलाअघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न खोजेको भन्दै आलोचना गरेकी छिन् ।
एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतले हिजोमात्रै रवि लामिछानेकेन्द्रित भएर भाषणा गरेका थिए । त्यसको भोलिपल्ट सोविताले यस्तो धारणा राखेकी हुन् । उनले सामाजिक सञ्जालमा लेखेकी छिन्–
मभन्दा वरिष्ठ नेताहरूलाई न्यूनतम राजनीतिक संस्कार कायम राख्नुहुन अनुरोध :
एकातिर सरकारले रवि लामिछानेमाथि दुषित मनसाय राखेर अभियोजन गरिराखेको छ । अर्कोतिर त्यतिगर्दा पनि नपुगेर सरकारमा रहेका दलका शीर्ष नेताहरूले खुल्लमखुल्ला भाषणहरूमा रवि लामिछानेलाई अदालतले फैसला गर्नु अघि नै अपराधी करार गरेर समाजमा झुठो भाष्य स्थापित गर्न भरमग्दुर प्रयास गरिरहनुभएको छ । अभियोग त दुराशयपूर्ण थियो नै, हुँदाहुँदा अभियोग नै अन्तिम सत्य हो भनेजसरी स्थापित गर्ने प्रयास भइरहेको छ ।
सत्ताको शक्तिले अदालतलाई यस्तो-यस्तो गर् भन्ने सन्देश दिन खोजेको भान भएको छ । यो प्रवृत्ति रोक्नुहोस् । बारम्बार राज्यसत्तामा रहेका र अहिले पनि राज्य सञ्चालनको तालाचाबी हातमा बाकेर हिँडिरहनुभएका तपाईंहरूलाई यसको गरेको पटक्कै सुहाएको छैन। देशमा सुशासन र कानुनको राज स्थापित गर्छौ भन्नेहरूले भाषणबाट फैसला र आदेश गरेको सुहाउँदै सुहाएन ।
स्वच्छ न्याय प्रभाव पार्नेगरी आएका शीर्ष नेताहरूका अभिव्यक्तिप्रति राज्यका सम्बन्धि निकायहरूको गम्भीर ध्यान जावस् । वरिष्ठ नेतृत्वहरूले कम्तिमा न्युनतम राजनितिक संस्कार चै कायम राखिदिनुस !