Logo

थप छ बन्धक रिहाइका लागि सहमतिपछि विस्थापित प्यालेस्टिनी उत्तरी गाजातर्फ फर्के



गाजा सिटी, प्यालेस्टिनी भू–भाग, १४ माघ । इजरायल र हमासले थप छ जना बन्धकलाई रिहा गर्ने सम्झौता भएको छ । बन्धक र कैँदी आदानप्रदानका लागि थप कुटनीतिक वार्तापछि प्यालेस्टिनीहरू सोमबारदेखि युद्धग्रस्त गाजा पट्टीको उत्तरी क्षेत्रमा फर्किन थालेका छन्।

इजरायल–हमास युद्धले गाजा पट्टीलाई तहसनहस पारेको छ र यसका लगभग सबै बासिन्दाहरूलाई विस्थापित गरेको छ । गाजामा चलेको १५ महिनाभन्दा बढीको द्वन्द्व अन्त्य गर्ने उद्देश्यले एक सम्झौता अन्तर्गत थप बन्धक–कैदी अदला–बदलीको लागि मार्ग प्रशस्त भएको छ ।

हमासले नागरिक महिला बन्धकहरूलाई रिहा गर्न असफल भएको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टिनीहरूको ठूलो भीडलाई उनीहरूको घर फर्कनबाट रोक्दै आएको थियो ।

हमासको नेतृत्वमा रहेको प्यालेष्टिनी गृह मन्त्रालयका एक अधिकारीले एएफपीलाई बताएअनुसार प्यालेस्टिनीहरूको भीड सोमबार बिहानैदेखि उत्तरतर्फ जान थालेको छ ।

“विस्थापित प्यालेस्टिनीहरूको बाटो खुल्न थालेको छ“, ती अधिकारीले भने।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले बिहीबार तीन जना र शनिबार अन्य तीन जनालाई रिहा गर्ने सहमति भएको जनाएको छ ।
हमासले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त सहमतिको पुष्टि गरेको छ ।

यसैबीच प्यालेस्टिनी नेताहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई ‘खाली’ गर्ने योजनाको निन्दा गर्दै युद्धग्रस्त क्षेत्रका बासिन्दालाई जबर्जस्ती विस्थापित गर्ने कुनै पनि प्रयासको प्रतिरोध गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा ‘विध्वंसस्थल’ बनेको बताउँदै जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग प्यालेस्टिनीलाई बाहिर निकाल्ने विषयमा कुरा भएको बताएका थिए ।

“इजिप्टले गाजामा रहेका आफ्ना मानिसहरूलाई लिएर जाओस् र जोर्डनले पनि त्यसै गरोस् भन्ने म चाहन्छु”, ट्रम्पले शनिबार एयर फोर्स वनमा पत्रकारहरूसँगको कुराकानीमा भने, “तपाईं शायद १५ लाख मानिसहरूको बारेमा चिन्ता व्यक्त गर्दै हुनुहुन्छ, र हामी त्यो सबै खाली गर्न चाहन्छौँ । तपाईंलाई थाहा छ, शताब्दियौंदेखि यो स्थानमा धेरै सङ्घर्षहरू थिए । मलाई थाहा छैन तर त्यहाँ केहि हुनुपर्छ ।

सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण गाजाका २४ लाख जनसङ्ख्यामध्ये अधिकांश विस्थापित भएका छन् ।

शनिबार ट्रम्पले गाजाका बासिन्दालाई स्थानान्तरण गर्नु ‘अस्थायी वा दीर्घकालीन पनि’ हुन सक्ने बताएका थिए ।

इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा रहेका प्यालेस्टाइनी नेता महमुद अब्बासले गाजाबाट प्यालेस्टाइनीहरुलाई विस्थापित गर्ने उद्देश्यले सञ्चालित कुनै पनि परियोजनाको कडा अस्वीकार र भत्र्सना गरेका छन्।

हमासको राजनीतिक ब्यूरोका सदस्य बासेम नईमले एएफपीसँग भने, “प्यालेस्टिनीहरूले यस्ता परियोजनाहरूलाई विफल पार्नेछन्, जसरी उनीहरूले ‘दशकौंदेखि विस्थापन र वैकल्पिक मातृभूमिका लागि’ यस्तै योजनाहरू गर्दै आएका छन्।”

गाजामा हमाससँग मिलेर लडेको इस्लामिक जिहादले ट्रम्पको विचारलाई ‘निन्दनीय’ भनेको छ ।

इस्लामिक जिहादले भनेको छ, “प्यालेस्टिनीहरूका लागि गाजाबाट उनीहरूलाई अन्यत्र सार्ने कुनै पनि प्रयासलाई अरब संसारले ‘नक्बा’ वा विपत्ति भनेको छ । यसले सन् १९४८ मा इजरायलको स्थापनाको समयमा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो सम्झनाहरू जगाउनेछ।

“हामी ट्रम्प र सम्पूर्ण विश्वलाई भन्छौं, जे सुकै भए पनि हामी प्यालेस्टाइन वा गाजा छोड्ने छैनौं,” गाजाका विस्थापित बासिन्दा रशाद अल–नाजीले भने ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजालेल स्मोटरिचले युद्धविराम सम्झौताको विरोध गर्दै गाजामा इजरायली बस्ती पुनः स्थापनाका लागि समर्थन जनाएका छन् ।

अरब लिगले उक्त प्रस्तावलाई अस्वीकार गर्दै प्यालेस्टिनी जनतालाई आफ्नो भूमिबाट विस्थापित गर्ने प्रयासविरुद्ध चेतावनी दिएको छ ।

लिगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जबर्जस्ती विस्थापन र आफ्नो भूमिबाट मानिसहरूलाई निष्कासन गर्नुलाई जातीय सफाया मात्र भन्न सकिन्छ।”

जोर्डनका विदेशमन्त्री अयमान सफादीले भने, “प्यालेस्टिनीहरूको विस्थापन योजनामा हाम्रो दृढ अस्वीकृति छ र स्थानान्तरण हुनेछैन। जोर्डन जोर्डनका लागि हो र प्यालेस्टाइन प्यालेस्टिनीका लागि हो ।

इजिप्टको विदेश मन्त्रालयले प्यालेस्टाइनको ‘अविभाज्य अधिकार’ को कुनै पनि उल्लङ्घनलाई अस्वीकार गरेको जनाएको छ ।

इजरायलले बन्धक बनाइएकी एक महिला अर्बेल येहुदको रिहाई नभएसम्म प्यालेस्टिनीलाई आवतजावतमा रोक लगाउने बताएको थियो ।
नेतन्याहूको कार्यालयका अनुसार उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

हमासले उत्तरमा फर्कन रोक्नु पनि युद्धविरामको उल्लङ्घन भएको बताउँदै येहुदको रिहाईका लागि आवश्यक सबै ग्यारेन्टी प्रदान गरेको जनाएको छ ।

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईले सोमबार स्थानीय समयअनुसार बिहान ७ बजेदेखि पैदल र बिहान ९ बजे कारमा फर्किन अनुमति दिइने बताएका छन् ।

गाजा युद्धविरामको पहिलो चरणमा इजरायली जेलमा रहेका करिब एक हजार ९०० प्यालेस्टिनीहरूको बदलामा ३३ जना बन्धकहरूलाई छ हप्तामा चरणबद्ध रूपमा रिहा गरिने सहमति भएको छ र सम्झौताका बुँदा अनुसार अन्यथा नभएमा यो आदानप्रदान सुनिश्चित गरिएको छ ।

पछिल्लो पटक भएको अदलाबदलीमा चार जना इजरायली महिला बन्धक, सबै सैनिक र २०० जना कैदी, लगभग सबै प्यालेस्टिनीलाई शनिबार रिहा गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्