Logo

बाढीपहिरोः रोशीद्वारा क्षतिग्रस्त गौरवका आयोजना पुनर्निर्माणको माग



काभ्रेपलाञ्चोक, १४ माघ । रोशी गाउँपालिकाले निर्माण भइरहेका ‘गौरवका आयोजना’ गत असोज दोस्रो साता बाढीपहिरोबाट क्षतिग्रस्त भएपछि पुनर्निर्माणका लागि माग गरेको छ । गाउँपालिकाले निर्माणाधीन एवं निर्माण सकिएका तीन ठूला गौरवका आयोजना पुनर्निर्माण गर्न सम्बन्धित निकायलाई पत्राचारमार्फत माग गरेको हो ।

गत असोज ११ र १२ गतेको अविरल वर्षासँगैको बाढीपहिरोका कारण गाउँपालिकामा निर्माण सम्पन्न भएका तीन ठूला आयोजनामा पूर्ण रुपमा क्षति पुगेको थियो । गाउँपालिका अध्यक्ष दिनेश लामाले ‘गौरव’का योजना मानिएका तीन आयोजनाको पुनर्निर्माणका लागि सङ्घ सरकारलाई पत्राचार गरिएको बताए । उनका अनुसार नेपाल सरकारको सम्बन्धित मन्त्रालयले क्षतिग्रस्त ती आयोजनाको प्रक्रिया अघि बढाउने आश्वासन दिएका छन् ।

बाढीपहिरोले वडा नं ११ स्थित कालढुङ्गामा करिब ७० रोपनी जमिनमा निर्माण गरिएको तामाङ जातिको विशेषता झल्कने ‘डम्फु जीवन्त सङ्ग्रहालय’सहितको पार्क रोशी खोलाले बगाएको छ । सङ्ग्रहालयमा तामाङ जातिको रहनसहन, वेशभूषा, संस्कृति, रीतिरिवाज तथा सो समुदायले प्रयोग गर्ने सामग्री तथा पुस्तक राख्ने तयारी गरिएको थियो । लामाका अनुसार निर्माण सम्पन्न भएको नौ डायमिटरको डम्फु, सङ्ग्रहालय भवन, पुस्तकालय भवन, वनभोजस्थल, पार्किङस्थल र बगैँचा रोशी खोलाको बाढीले बगाएको थियो ।

१४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने योजना बनाइएको सङ्ग्रहालय भवन निर्माणमा नेपाल सरकारको पाँच करोड तथा गाउँपालिकाको ३८ लाख ६९ हजार खर्च भएको थियो । करिब अन्तिम चरणमा रहेको पार्कका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले पाँच लाख विनियोजन गरेको थियो ।

सङ्ग्रहालय हाताभित्र करिब दुई करोडमा निर्माण गरिएको औद्योगिक ग्रामको प्रशासनिक भवन तथा शीतभण्डार र खानेपानी आयोजनाका संरचना पनि बाढीले बगाएको थियो । उद्घाटनको तयारी भइरहेको ग्रामको संरचना जगैदेखि बाढीले बगाएको छ ।

यस्तै, १ नं वडामा निर्माणको अन्तिम चरणका पुगेको १० शय्याको आधारभूत अस्पतालको भवनसमेत बाढीले बगाएको थियो । नेपाल सरकारको रु छ करोड पाँच लाख २४ हजार लागतमा सम्पन्न हुने अस्पतालको संरचना सम्पन्न गर्न आगामी पुस मसान्तसम्मको समयसीमा थियो ।

यसैगरी, रोशी–११ कालढुङ्गामा करिब ७० रोपनी क्षेत्रफलमा तयार भएको चिस्यान केन्द्रसहित औद्योगिक ग्रामको प्रशासनिक भवनसहितको संरचना पनि बाढीले बगाएको छ । सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा निर्माण हुने ग्रामका लागि नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक करोड ६८ लाख र गाउँपालिकाको ५४ लाख गरी दुई करोड २२ लाख खर्च भइसकेको थियो ।

बाढीपहिरोमा परी उक्त गाउँपालिकामा छ महिला, तीन पुरुष, एक बालक र तीन बालिका गरी १३ जनाको मृत्यु भएको थियो भने चार सय ८२ घर पूर्ण रुपमा तथा आठ सय ८३ घरमा आंशिक रुपमा क्षति पुगेको थियो । गाउँपालिका कार्यालयको तथ्याङ्कअनुसार बाढीपहिरोले दुई हजार पाँच सय ४४ परिवारको खेतबारीमा क्षति पुगेको थियो भने एक सय ६० खानेपानी आयोजना, एक पक्की पुल, ४७ विद्यालय र चार स्वास्थ्य केन्द्रमा क्षति पुगेको थियो ।

यसैबीच, गाउँपालिकाले घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालेको छ । पहिलो चरणमा घर पूर्ण रुपमा क्षति भएका परिवारका लागि अस्थायी आवास निर्माण थालिएको गाउँपालिकाले जनाएको हो ।

गाउँपालिका अध्यक्ष लामाका अनुसार विभिन्न दाता संस्थाको सहयोगमा वडा नं २ बाट अस्थायी आवास निर्माणको काम सुरु गरिएको तथा वडा नं ९ को नार्के आसपासको क्षेत्रमा हालसम्म ५० वटा निर्माण भइसकेको छ । हाल वडा नं २ मै थप पाँच घर निर्माणाधीन अवस्थामा रहेको लामाले बताए ।

उक्त गाउँपालिकाले विपद् व्यवस्थापनका लागि गत कात्तिक ३० गते नै विशेष गाउँसभामार्फत चालु आर्थिक वर्षमा योजनाका लागि विनियोजित बजेटबाट केही प्रतिशत कटौती गर्ने निर्णय गरेको थियो । गाउँपालिकाले विपद्सँग सम्बन्धित बनाएर दुई सय ६६ योजना संशोधन गरेको छभने विपद् कोष दुई करोड ८० लाखको बनाएको जनाएको छ ।

कोषको रकमले स्थानीय तहमा अत्यावश्यक विपद् खर्च, बाढीपहिरोले पु¥याएको क्षतिको तथ्याङ्क सङ्कलन, राहत वितरणलगायत विविध शीर्षकमा खर्च गर्नेगरी संशोधन गरिएको गाउँपालिकाले जनाएको छ । रासस



प्रतिक्रिया दिनुहोस्