गण्डकी, १४ माघ । पर्यटकीय राजधानी पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अघिल्लो वर्षको तुलनामा विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।
सन् २०२३ मा सार्क राष्ट्रबाहेकका कुल १९ हजार एक सय १९ विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेकामा सन् २०२४ मा २२ हजार चार सय ७० ले अवलोकन गरेका छन् । सङ्ग्रहालयमा पर्वतीय पर्यटनका विविध पक्षलाई जीवन्त रुपमा चित्रण गर्ने किसिमका सामग्री राखिएको कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए ।
उनका अनुसार सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशी पर्यटकका लागि प्रतिव्यक्ति सात सय ५० टिकट दस्तुर निर्धारण गरिएको छ । त्यस्तै, सार्क राष्ट्रका नागरिकका लागि तीन सय ५०, स्वदेशी अन्य सर्वसाधारणका लागि एक सय ५० र विद्यार्थीका लागि ८० टिकट दस्तुर निर्धारण गरिएको छ ।
सङ्ग्रहालयमा स्वदेशी एवं विदेशी पर्यटकको आगमन बढ्दो क्रममा रहेको उनले जानकारी दिए । सन् २०२४ मा स्वदेशी एवं विदेशी पर्यटक गरी कुल ९५ हजार आठ सय ६२ जनाले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण गन्तव्यका रुपमा सङ्ग्रहालय स्थापित बन्दै गएको उनले बताए ।
हिमाल र हिमाली जीवनका विभिन्न गतिविधिलाई नियाल्न सकिने सङ्ग्रहालयमा त्यस क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेशभूषा, कला र संस्कृतिका साथै भौगोलिक अवस्था आदिबारे जानकारी लिने व्यवस्था मिलाइएको छ । रासस