काठमाडौं, १५ माघ । नेकपा (एमाले) को संसदीय दलको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको स्पष्ट पारेका छन् । पछिल्लो समय विपक्षी दलहरुले सरकारको आयुलाई लिएर विभिन्न टिकाटिप्पणी गरिरहेको उल्लेख गर्दै उनले सरकार सहमतिअनुसार अघि बढिरहेको र कांग्रेससँगको सहकार्यमा कुनै समस्या नरहेको ब्रिफिङ गरेका हुन् ।
प्रधानमन्त्री ओलीले हिजो सार्वजनिक कार्यक्रममा समेत सरकारको आयुलाई लिएर कडा टिप्पणी गरेका थिए । आजपनि उनले त्यही भनाई दोहोर्याए । उनले विपक्षीहरुले सरकार ढल्दैछ भनेर भ्रम फैलाएको र उनीहरुको सपना कहिल्यैपनि पूरा नहुने दाबी गरे । उनले बरु प्रचण्डको नाम लिएर सरकार ०८४ को निर्वाचन गरेपछि ढल्ने दाबी गरे ।
उनले सदनमा सरकारले ल्याएका अध्यादेशको डटेर पक्षमा वकालत गर्न सांसदहरुलाई निर्देशन दिए । सदनको अब सुरु हुने अधिवेशनमा अध्यादेश निर्णायार्थ पेश गरिने जानकारी गराए । सत्ता गठबन्धनको बैठकमा समेत अध्यादेशको पक्षमा सांसदहरुले आवाज उठाउने सहमति भएको कुरा प्रधानमन्त्री ओलीले आज दोहोर्याएका हुन् । f