Logo

ए–बमको ८०औँ वार्षिकोत्सव मनाउन ट्रम्पलाई जापान भ्रमणको निमन्त्रणा



टोकियो, १६ माघ । हिरोसिमा र नागासाकीका मेयरहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो विश्वयुद्धको आणविक बम विष्फोटको ८०औँ वार्षिकोत्सव मनाउन यस वर्ष भ्रमण गर्न आमन्त्रित गरेको अधिकारीहरूले बुधबार बताएका छन् ।

ट्रम्पलाई लेखिएको संयुक्त पत्रमा मेयरहरूले उनलाई ‘हिबाकुसा (बम पीडित) हरूको प्रत्यक्ष गवाही सुन्न, उनीहरूको शान्तिको प्रबल चाहनालाई हृदयङ्गम गर्न र आणविक हतियारको अमानवीयताका बारेमा आफ्नो बुझाइलाई गहिरो बनाउन’ आग्रह गरेका छन् ।

बुधबार एएफपीसँग साझा गरिएको जनवरी २८ को पत्रमा भनिएको छ, “तपाईंले आणविक निर्भरताको धारणाबाट मुक्त भई आणविक हतियारको उन्मूलन र दीर्घकालीन विश्व शान्तिको प्राप्तिमा बलियो नेतृत्व लिनुहुनेछ भन्ने हाम्रो हार्दिक आशा छ ।”

संयुक्त राज्य अमेरिकाले सन् १९४५ अगस्ट ६ र ९ मा जापानी सहर हिरोसिमा र नागासाकीमा एक–एक वटा आणविक बम खसालेको थियो । यो युद्धमा आणविक हतियार प्रयोग गरिएको एकमात्र घटना हो । केही दिनपछि जापानले आत्मसमर्पण गरेको थियो ।

हिरोसिमामा करिब एक लाख ४० हजार र नागासाकीमा करिब ७४ हजार मानिसको मृत्यु भएको थियो । यसमा विस्फोटबाट बाँचेका तर पछि विकिरणको असरबाट मृत्यु भएका धेरै मानिसहरू समावेश छन् ।

वासिङ्टनले बम विस्फोटका लागि कहिल्यै माफी मागेको छैन ।

सन् २०१० मा अमेरिकी राजदूत जोन रुस वार्षिक हिरोसिमाको सम्झनामा सहभागी हुने पहिलो अमेरिकी प्रतिनिधि बने र दुई वर्षपछि नागासाकी कार्यक्रममा गए ।

बाराक ओबामा सन् २०१६ मा हिरोसिमा आउने पहिलो अमेरिकी राष्ट्रपति बने । त्यसपछि सन् २०२३ मा जो बाइडेन आए ।

जापानी मिडियाका अनुसार दुवै मेयरले आमन्त्रित गरे तापनि ट्रम्पले आफ्नो पहिलो कार्यकालमा भ्रमण गरेनन् ।

गत वर्ष नागासाकीका मेयर शिरो सुजुकीले इजरायली राजदूतलाई समारोहमा निमन्त्रणा नगरेर विवाद निम्त्याएका थिए । सुजुकीले यो निर्णय ‘राजनीतिक होइन’ तर गाजा द्वन्द्वसँग सम्बन्धित सम्भावित विरोध टार्न भएकामा जोड दिए ।

अमेरिका, इजरायल, बेलायत लगायतका राजदूतहरू विरोधस्वरूप समारोह बहिष्कार गरी टोकियोमा आयोजित सानो स्मृति कार्यक्रममा सहभागी भएका थिए ।

गत वर्षको नोबेल शान्ति पुरस्कार हिरोसिमा र नागासाकीबाट बचेका मानिसहरूको आणविक हतियार प्रतिबन्धका लागि दबाब दिने आधारभूत आन्दोलन निहोन हिडान्क्योलाई प्रदान गरिएको थियो। रासस



प्रतिक्रिया दिनुहोस्