काठमाडौँ, १७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्होछार पर्वले पारम्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउने बताएका छन् ।
तामाङ समुदायको सोनाम ल्होछारलगायतको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले यस्ता चाडपर्वले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभूति, सामाजिक न्याय, दिगो विकास र आर्थिक समृद्धि हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले ल्होछार पर्वका अवसरमा देश तथा विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
उनले श्रम संस्कृतिमा आधारित प्रकृति पूजकको पर्वका रूपमा परिचित ल्होछारमा विभिन्न मिष्ठान्न भोजनका साथै आफ्नो समुदायको मौलिक संस्कृति र परम्पराअनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्ष उल्लासका साथ यो पर्व मनाउने गरिएको स्मरण गरेका छन् ।
शुभकामना सन्देशमा उनले लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता भएको उल्लेख गरेका छन् ।रासस