काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद रामहरि खतिवडाले सरकारले आवश्यकत्ता ठानेर नै अध्यादेश ल्याएको स्पष्ट पारेका छन् । आज (शुक्रबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
अहिले सरकारले ल्याएको अध्यादेश निजी क्षेत्रले असाध्यै स्वागत गरेको भन्दै बचाउ गरे । प्रमुख प्रतिपक्षले पनि अहिले सरकारले ल्याएका अध्यादेशको स्वागत गर्दै धन्यवाद भन्नुपर्ने उनको सुझाव छ । उनले अहिले सरकारले राम्रो काम गरिरहेको र हिजो कोमामा पुगेको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने काम गरेकोसमेत दाबी गरे ।
उनले कांग्रेस र एमाले पेलेरै जाने मनस्थितिमा नभएको जिकिर गरे । रास्वपाले आफूहरुलाई तह लगाउने कुरा गर्दा आफूहरु पनि हातमा दही जमाएर नबस्ने उनको चेतावनी छ । उनले भने,‘अर्कालाई गाली गरेर मुलुक तह लाग्दैन् । देश तह लाग्दैन् । जनता तह लाग्दैनन् । गाली गर्दा र तर्साउने कुरा गर्दा एकदिन आनन्द होला । तर, कानूनअनुसार हुन्छ ।’
रास्वपाका सभापति रवि लामिछानेले विभिन्न अदालतमा करोडौं धरौटी बुझाएर रिहा भएको विषयमा उनले क्लिनचिट भन्नेहरुले अहिले देखिरहेको टिप्पणी गरे । File Photo/ReportersNepal