Logo

इन्डोनेसियामा वन फँडानीमा वृद्धि, ओरङ्उटानजस्ता सङ्कटापन्न प्रजाति थप सङ्कटमा



बैङ्कक, १८ माघ । इन्डोनेसियामा सन् २०२४ मा वन फँडानी फेरि बढेको एक स्थानीय वातावरणीय गैरसरकारी संस्थाले शुक्रबार जनाएको छ ।

इन्डोनेसियाको वन फँडानीको दर विश्वकै उच्च दरमध्ये एक रहेको छ । इन्डोनेसियामा काठको प्रयोग, पाम तेलको खेती, र बढ्दो महत्वपूर्ण खनिजहरूको खननलगायतका विविध कारणले जङ्गलको फँडानीमा उल्लेख्य वृद्धि भएको देखिन्छ ।

देशको बाँकी वन क्षेत्रहरू खतरामा परेका र सङ्कटापन्न प्रजातिहरूका महत्त्वपूर्ण वासस्थान साथै प्रमुख ‘कार्बन सिङ्क’हरू रहेका छन् ।

गैरसरकारी संस्था औरिगा नुसानताराको प्रतिवेदनअनुसार सन् २०२४ मा इन्डोनेसियामा दुई लाख ६१ हजार ५७५ हेक्टर मुख्य वन क्षेत्र र सहायक जङ्गलहरू नष्ट भएको छ । यो अघिल्लो वर्षको तुलनामा चार हजार बढी हो ।

सरकारले विकासका लागि खुला गरेको क्षेत्रमा सबैभन्दा बढी नोक्सानी देखिएको यो तेस्रो वर्ष भएको समूहले जनाएको छ ।

“यो चिन्ताजनक छ, किनकि यसले कानुनीरूपमा वन फँडानी बढाएको देखिन्छ,” औरिगा नुसानताराका अध्यक्ष टाइमर मनुरुङले भने ।

उनले देशको नयाँ राजधानी निर्माण हुँदा सबैभन्दा बढी जङ्गल क्षति भएको कालिमान्तन र सुलावेसीमा वनको ‘तत्काल’ संरक्षणको आवश्यकता रहेको बताए ।

इन्डोनेसियाली वातावरणविद्हरूले लाखौं हेक्टर वनलाई खाद्य र ऊर्जा उपयोगका लागि रूपान्तरण गर्ने सरकारी योजनाबारे चिन्ता व्यक्त गरिरहेका बेला यो प्रतिवेदन आएको हो ।

अक्टोबरमा पदभार ग्रहण गरेका राष्ट्रपति प्राबोवो सुबियान्तोले देशमा खाद्य र ऊर्जा आत्मनिर्भरता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यसमा जैविक ईन्धनको विस्तार गरेर ईन्धन आयात कम गर्ने पनि समावेश छ।

वातावरणीय समूहहरूले यी योजनाहरूले देशको वनहरूमा विपत्ति निम्त्याउने चेतावनी दिएका छन् । यिमध्ये धेरै ओरङ्उटानजस्ता खतराको सूचीमा रहेका सङ्कटापन्न प्रजातिहरूको घर हो।

“हामी राष्ट्रपति प्राबोवोलाई बाँकी रहेका सबै प्राकृतिक वनको संरक्षणका लागि राष्ट्रपतिद्वारा निर्देशन जारी गर्न आग्रह गर्दछौं,” टाइमरले एएफपीसँग भने । रासस



प्रतिक्रिया दिनुहोस्