
काठमाडौं, १९ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले देशलाई साँच्चिकै माया गर्ने र परिवर्तनको वाहक पार्टी भनेको माओवादी नै भएको दाबी गरेका छन् ।
आज (शनिबार) चितवनमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले देशव्यापी रुपमा जनतामा नयाँ चेतना जागृत भएको दाहालको दाबी छ । दाहालले आफूले पछिल्लो समय १८ महिना सरकारको नेतृत्व लिँदा लिएको नीति र निर्णयले गर्दा सुशासनको पक्ष र भ्रष्टाचारको विरुद्धमा निर्णय लिएको स्पष्ट पारे ।
उनले सामाजिक न्यायको पक्षमा कदम चालेको र आर्थिक संकटबाट मुलुकलाई पार लगाउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले अहिले देशभरि नै माओवादी केन्द्र र यसको नेतृत्वप्रति जनतामा भरोसा देखिएको दाबी गरे । उनले आउने सदनमा आफूले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले सम्बोधन गर्ने भन्दै सुनेर आफ्नो धारणा बनाउन भनेका छन् ।
उनले पार्टी प्रवेश कार्यक्रममा कार्यकर्ताहरुलाई प्रशिक्षणको लागि समय नभएको भन्दै अब सदनमा बोल्ने कुरा नै आफ्नो महत्वपूर्ण धारणा हुने भन्दै त्यसलाई नै प्रशिक्षणको रुपमा लिन नेता तथा कार्यकर्तालाई अपिल गरे ।