Logo

भैरहवामा धम्म यात्रा सम्पन्न, बाटोमा फूल छरेर भिक्षुको स्वागत



रुपन्देही, चैत ३ । पाँच सय जना श्रामणेर (अल्पकालीन भिक्षु)हरूको यात्रा ‘धम्म यात्रा’ शनिबार सम्पन्न भएको छ । भैरवाको सिद्धार्थ रङ्गशालाबाट सुरु भएको धम्म यात्रा देवकोटा चोक, बैंकरोड, नारायणपथ हँुदै लुम्बिनी गेटमा समापन भएको थियो । लुम्बिनी गेटमा हजारभन्दा बढी स्थानीयले श्रामणेरहरूको स्वागतमा उनीहरूको पाऊमुनि फूल छरेर स्वागत गरेका छन् । धम्म यात्रासँगै श्रामणेरहरूको प्रवज्या कार्यक्रम पनि सम्पन्न भएको छ ।

थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन क्लपुत्र प्रबज्या कार्यक्रम अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहितको सहआयोजनामा लुम्बिनीमा पाँच सय जनालाई प्रवज्या गराइएको थियो । प्रव्रज्या ग्रहण गरेपछि उनीहरू अब श्रावणेर अर्थात् अल्पकालीन भिक्षु बनेका हुन् । श्रावणेर र भिक्षुले धम्म यात्रा गर्दा सर्वसाधारणमा धर्म चच्छु पलाउने, करुणा, मैत्रीभाव उत्पन्न हुने हुँदा यसो गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु श्रीवजीरले बताए।

अल्पकालीन भिक्षुहरूले पहेलो चीवर लगाएर बुद्ध धर्मका १० नियम पालना गर्नुपर्ने छ । सामान्य अनुयायीले पञ्चशील र अष्टशीलको पालना गर्ने भए पनि अल्पकालीन भिक्षुले २० दिनसम्म पूर्ण रूपमा बौद्ध नियममा आफूलाई रूपान्तरण गर्नुपर्ने छ । भिक्षु बन्नका लागि भने दुई सय २७ वटा नियम पालना गर्नुपर्ने छ ।

धम्मयात्रा शब्द ‘धम्म’ र ‘यात्रा’ मिलेर बनेको हो । ‘धम्म’ को अर्थ कुशल कर्म हो भने ‘यात्रा’ को अर्थ लाग्नु हो । धम्म यात्राको अर्थ कुशल कर्मतिर लाग्नु वा कुशल कर्मसँगै प्रस्थान गर्नु हो ।

बुद्ध धर्मका विभिन्न १० वटा शील पालना गरेर उनीहरू श्रावणेर बनेका हुन् । उनीहरूलाई पहेलो चिवर प्रदान गरिएको थियो । यसरी श्रावणेर बनेका व्यक्तिले शील पालना, ध्यानका साथै बुद्ध शिक्षासम्बन्धी कक्षा लिएको भिक्षु श्रीवजीरले बताए।

“प्रवज्या भनेको भगवान् बुद्धले ज्ञान प्राप्त गर्नुभन्दा अगाडि उहाँले आफ्नो राजपाट र घरगृहस्थ त्याग गरेर सन्यासी हुनुभयो, त्यसैलाई हामीले प्रवज्या भन्छौँ”, श्रीवजीरले भने, “प्रवज्या जीवनबाट नै भगवान् बुद्धले आफ्नो ज्ञानको मार्ग सुरु गर्नुभएको थियो ।” रासस



प्रतिक्रिया दिनुहोस्