
काठमाडौं, ४ चैत्र । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले वर्तमान सरकारको विकल्प नखोजिएको स्पष्ट पारेका छन् । उनले अहिलेको कांग्रेस–एमालेको गठबन्धन तोडेर नयाँ सरकार गठन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट पारेका हुन् । आज (सोमबार) संसद भवन परिसरमा पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा घिमिरेले यस्तो स्पष्ट पारेका हुन् ।
हिजोमात्रै संसद् भवन परिसरबाटै माओवादी सांसद राजन दाहालले गणतन्त्रका पक्षधरहरुको नेतृत्वमा नयाँ सरकार बन्नेगरि छलफल अघि बढेको बताएका थिए । उनले माओवादीले नयाँ सरकारको लागि छलफल भने कांग्रेससँग मात्रै गरिरहेको दाबी गरेका छन् । त्यसको भोलिपल्टै आज कांग्रेसका प्रमुख सचेतक घिमिरेले दाहालको उक्त दाबीको खण्डन गरेका हुन् । उनले अहिलेको सरकारले नै मुलुकलाई निकास दिने र स्थायित्व दिने दाबी गरेका हुन् ।