Logo

देउवासँग दाहालको निरन्तर सम्वाद



काठमाडौं, ४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवासँग सम्वाद बढाएका छन् । पार्टीको ‘जनतासँग माओवादी’ अभियान रोकेर काठमाडौं आउनुअघि नै देउवासँग दाहालको फोन सम्वाद भएको उच्च स्रोतको दाबी छ ।

काठमाडौं आएपछि दाहालले पार्टीको बैठक राखेर राजावादीहरुको आन्दोलनलाई काउन्टर दिने निर्णय गराए । लगत्तै समाजवादी मोर्चाको बैठक डाके । त्यस बैठकमार्फत सडकमा लाखौं जनता गणतन्त्रको पक्षमा उतार्ने निर्णय गराए । संसद्मा पनि विपक्षी दलको नेताको रुपमा लामो र अर्थपूर्ण सम्बोधन गरे । आफ्ना गतिविधि र भाषण राजावादीहरुको विरुद्धमा खर्चिएका प्रचण्डले अस्थिरता निम्त्याउने काम स्वयम प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भन्दै दोषारोपण पनि गरेका छन् ।

प्रचण्ड यत्तिमा मात्रै रोकिएनन् । उनले सिन्धुपाल्चोक पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफ्नो पदीय शोभा नहुनेगरि व्यक्तिगत तहमा उत्रिएर गाली गलौच र गम्भीर आरोप लगाए । दाहालले ज्ञानेन्द्रलाई ‘भाइमारा, मूर्तिचोर र सुन तस्कर’ जस्ता शब्द प्रयोग गरेर गम्भीर आरोप लगाए । दाहालको उक्त अभिव्यक्तिले राजावादीहरु भड्किए ।

राप्रपाकै एक कार्यक्रममा युवा नेताले प्रचण्डको तस्विर नै आगो लगाएर विरोध गरे । व्यवस्थामाथि खतरा भयो भनेर प्रचण्डले जसरी आफूलाई अहिलेको व्यवस्थाको पक्षधर बनाएर राजावादीविरुद्ध संघर्ष गर्ने उद्घोष गरेका छन् । उता, सरकारको नेतृत्व गरिरहेका दल कांग्रेस र एमालेका नेतृत्व भने प्रतिक्रियाविहीन अवस्थामा छन् ।

प्रधानमन्त्री ओलीले बेला बेलामा राजतन्त्रमा मुलुकलाई फर्काउन नसकिने टिप्पणी गरेका छन् । देउवा त खासै बोलेका छैनन् । देउवाले भोलि दिउँसो पदाधिकारी बैठक बोलाएका छन् । त्यस बैठकमा राजावादीहरुको आन्दोलनको सवालमा केही छलफल र निर्णय होलान्, तर अहिलेसम्म देउवाले राजावादीहरुको आन्दोलनलाई लिएर सार्वजनिक रुपमा ठूलो प्रतिक्रिया जनाएका छैनन् । रोचक त के छ भने राजावादीहरुको आन्दोलन चर्किएसँगै गणतन्त्र पक्षधहरु एक हुनुपर्ने प्रस्ताव अघि सारिएको छ ।

कतिसम्म भने अहिलेकै सरकारमा माओवादीपनि सहभागी हुने हल्ला चलाईएको थियो । त्यसको प्रचण्डको सचिवालयले हिजोमात्र खण्डन गरिसकेको छ । माओवादीको लोकप्रियता देखेर आँत्तिएकाहरुले सरकारमा माओवादी सहभागी हुँदैछ भनेर हल्ला चलाईएको र त्यसमो कुनै सत्यता नभएको दाहालको सचिवालयको खण्डन छ । तर, व्यवस्था जोगाउने सवालमा भने दाहालले मुख्य नेताहरुसँग सम्वाद बढाएको स्वयम दाहालको सचिवालयले प्रष्ट पारिरहेको छ ।

अहिले प्रचण्डले प्रधानमन्त्री ओलीसँग भन्दापनि देउवासँग बढि सम्वाद जारी राखेको बताईन्छ । यी दुई नेताबीच फोनसम्वाद भएको छ । जनतासँग माओवादी कार्यक्रम लिएर कोशी झर्नुअघि पनि देउवा र दाहालबीच भेट भएको थियो । दाहालकी नातिनी दृष्टि केसीको विवाह समारोहमा देउवापनि सरिक थिए ।

त्यही मेसोमा दुई नेताबीच छुट्टै लामो सम्वाद भएको विवाहमा सरिक हुनेले बताएका छन् । मधेश यात्राको क्रममा पनि दुई नेताबीच फोन सम्वाद भएको जनाईन्छ । अहिले काठमाडौं आएपछि पनि देउवासँग दाहालको सम्वाद भएको छ । दाहालले तत्कालै देउवासँग भेटेर अहिलेको परिस्थितिको आँकलन गर्ने र कसरी जान सकिन्छ भनेर छलफल गर्ने सोच बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्