Logo

नेपालका राजाहरुले अन्तर्राष्ट्रिय वेश्यालयमा गएर नेपालको बेईज्जत गरेको प्रचण्डको आरोप



काठमाडौं, ४ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनतालाई फेरि रैती बनाउने कोशिस भैराखेको भन्दै कुनैपनि हालतमा प्रतिगमनकारीहरुलाई सफल हुन नदिने स्पष्ट पारेका छन् । राजेन्द्र श्रेष्ठद्धारा लिखित पुस्तकको विमोचन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले अहिले संविधानविरोधी हर्कत भैराखेको भन्दै राजावादीहरुको आन्दोलनको विरोध जनाए ।

उनले भने,‘प्रतिगमनको कोशिस हुन्छ । संविधानले एउटा कुरा अपरिवर्तनीय भनेको छ । राजनीतिक शिष्टम, मान्यता परिवर्तन गर्न सकिन्छ । तर, राष्ट्रिय स्वाधिनता, अखण्डता परिवर्तन हुँदैन् । नेपाली जनतामा गएको सार्वभौमसत्ता परिवर्तन हुन सक्दैन् । तथाकथित राजावादीहरुले जे गरेका छन्, त्यो संविधानविरोधी काम हो । जनतालाई एकचोटी रैती बनाउने कोशिस हुँदैछ, सफल हुने दिईनेछैन् । बलिदान गर्ने वर्गको जिम्मेवारी छ, अब यो व्यवस्था ल्याउन बलिदान गरेकाहरु र वर्गले सचेत हुने बेला आयो ।’ उनले फेरि राजसंस्था फर्काउने कुरा कालरात्री फर्काउनेजस्तै भएकोले त्यतातिर कसैले पनि सोच्न नहुने तर्क गरे ।

उनले राजाहरुको शासन कालमा भएका विभिन्न काण्डको पनि स्मरण गराए । उनले भने,‘हिजो के भएको थियो ? कोतपर्व के थियो ? भण्डारखाल क–कसको झगडाले कसरी भएको हो ? त्यहाँ सयौं भारदारहरुको कत्लेआम कसरी गरिएको थियो ? नेपालको नक्शालाई संकुचित बनाउने काम दरबारीया राजाहरुले कसरी गरेका थिए, विदेशीको चाकडी कसरी गरेका थिए ? हिजोका राजा र महाराजाहरु अन्तर्राष्ट्रिय रुपमा वेश्यालयमा गएर नेपालको बेईज्जत कत्ति धेरै गराएका थिए ? यहीँ अस्ति भर्खरै कलकत्तामा बेईज्जत गरेर जवहारलाल नेहरुले त तिमीहरुको राजाले त बेईज्जत नै गर्यो छिटो फर्काउ भन्नपर्ने त्यो स्तरको कसले गरेको थियो ? नमिता सुमिता हत्याकाण्ड के थियो ? दरबारहत्याकाण्ड कसले कसरी गरेको हो ? यो युवाहरुलाई बुझाउन पर्यो ।’



प्रतिक्रिया दिनुहोस्