
काठमाडौं, चैत ९ । काठमाडौंस्थित भारतीय राजदूतावासमा शुक्रबार ६० औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाइएको छ । सो अवसरमा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतमा अध्ययन गर्दाको आफ्नो अनुभव स्मरण गर्दै विकास र शिक्षाको क्षेत्रमा नेपालमा भारत सरकारबाट भएका पहलहरूको लागि धन्यवाद ज्ञापन गरिन् ।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आइटेक पहललाई थप विस्तार गर्ने र नेपाल सरकारको विकसित प्राथमिकताहरू अनुसार थप अनुकूलित कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रमको क्रममा महान्यायाधिवक्ता रमेश बडाल, राष्ट्रिय सुरक्षा परिषद् सचिवालयका सहायक संयोजक तथा आइटेकका पूर्वविद्यार्थी सहायक रथी पवन खत्री र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक दयाराम शर्माले आइटेकका बारेमा आफ्ना अनुभव सेयर गरेका थिए । समारोहमा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्द्वारा समर्थित प्रख्यात कलाकार कुलेश्वर कुमार ठाकुरको नेतृत्वमा रहेको भारतको सांस्कृतिक समूह ‘यज्ञ’ द्वारा मनमोहक मयूरभञ्ज छाऊ नृत्य प्रस्तुति गर्नुका साथै नेपालको प्रख्यात कान्त दब दब ब्यान्डद्वारा मन्त्रमुग्ध वाद्य लोक फ्युजन र ज्याज पनि समावेश थियो ।
आइटेक दिवस समारोहको उपलक्ष्यमा सांसदहरू, वरिष्ठ सरकारी अधिकारीहरू, आइटेकका पूर्वविद्यार्थीहरु र भारतीय शैक्षिक संस्थाका प्रख्यात नेपाली पूर्वविद्यार्थीहरु समेत उपस्थित थिए ।
आइटेकको रूपमा परिचित भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम भारत सरकारको विदेश मन्त्रालयको अग्रणी क्षमता निर्माण प्लेटफर्म हो । अन्तर्राष्ट्रिय क्षमता निर्माणको लागि सबैभन्दा पुरानो संस्थागत व्यवस्थाहरू मध्ये एक रहेको आइटेक सन् १९६४ मा स्थापना भएका थियो जसले १६० भन्दा बढी देशका २००,००० भन्दा बढी अधिकारीहरूलाई तालिम दिएको छ ।
सन् २०२४–२०२५ मा नेपालका ५१० जना पेशेवरहरूलाई भारतका विभिन्न प्रमुख संस्थानहरूमा विभिन्न कोर्सहरूको लागि तालिम दिइएको दूतावासले जनाएको छ । सन् २०२४–२०२५ मा भारतका १० प्रमुख संस्थानहरूमा डाक्टरहरू (५०); सरकारी वकिलहरू (३०); राष्ट्रिय न्यायिक प्रतिष्ठान, नेपालका सदस्यहरू (१५), नेपाल प्रहरी (१४३); सशस्त्र प्रहरी बल (८०); गृह मन्त्रालय (२४); खानेपानी मन्त्रालय (४०) का लागि १८ अनुकूलित कोर्सहरूको व्यवस्था गरिएको थियो ।
नजिकको र मैत्रीपूर्ण छिमेकी भएको नाताले भारत सरकारको आइटेक पहलमा नेपाल सक्रिय साझेदार भएको दूतावासको भनाइ छ । नेपालबाट विगत १५ वर्षमा मात्र ३,००० भन्दा बढी अधिकारीहरूलाई आइटेक अन्तर्गत रहेर तालिम दिइएको जनाइएको छ ।