Logo

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्तिर्‍याली



दमौली (तनहुँ), १ असोज । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्तिर्‍याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्‍याली दमौली बजार परिक्रमा गरी पुनः मस्जिदमा आएर टुङ्गियो ।

मुस्लिम समुदायको सन्देष्टाका रुपमा पैगम्बर मोहम्मदलाई मान्ने गरिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिए । जन्मोत्सवको अवसरमा सोमबारदेखि विविध कार्यक्रम गरिएको उनले बताए ।

पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको र पछि साउदी अरबको मदिना गएको इतिहास छ । पैगम्बर जन्मेको ५३ वर्षपछि इस्लामिक पात्रो (हिजरी संवत) सुरु भएको हो ।

जगतको सृष्टिदेखि पवित्रस्थलमा रहेको मक्का मदिना पहिले सबै धर्मावलम्बीले पूजा आराधना गर्ने तीर्थस्थल थियो । मोहम्मदले उपदेश दिने क्रममा यहीँ कुरान अवतरित भएको विश्वास मुस्लिम समुदायको छ ।

कुरान अवतरित भएपछि यहाँ अन्य धर्मावलम्बी कम गएको विश्वास छ । त्यसपछि इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थलका रुपमा मान्न थालिएको हो । यसअघि जेरुसेलमलाई इस्लाम धर्मावलम्बीको मुख्य तीर्थस्थल मानिन्थ्यो ।

यसैकारण इस्लाम धर्मावलम्बीले जीवनमा एकपटक मक्का मदिनामा गएर हज गर्न चाहन्छन् । इस्लाम धर्ममा महत्वपूर्ण योगदान गरेकाले पैगम्बर मोहम्मदको उपदेशलाई मुस्लिम समुदायले हरेक वर्ष सम्झने गर्छन् । रासस



प्रतिक्रिया दिनुहोस्