Logo

नेसनल प्याब्सन भक्तपुरको लोकनृत्य प्रतियोगितामा पारागन विजयी



भक्तपुर, असोज २ । नेसनल प्याब्सन भक्तपुरको कार्यक्रम अन्तर्गत स्टुडेन्ट एकेडेमी स्कुलको आयोजनामा अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यमा प्रतियोगिता सम्पन्न भएको हो ।

उक्त प्रतियोगिताको विजेता कमलविनायक स्थित पारागन एकेडेमी स्कुल हुन सफल भएको छ । त्यसैगरी सूर्य विनायक नगरपालिका ५ मा रहेको युनिटी स्कुल द्वितीय, चाँगुनारायण नगरपालिका ९ मा रहेको सरस्वती शिक्षा सदन स्कुल तृतीय स्थान पाउन सफल भएका थिए । साथै सूर्य विनायक नगरपालिका ३ स्थित इडेन गार्डेन स्कुल र सूर्य विनायक नगरपालिका १० मा रहेको विमल मेमोरियल विद्यापीठले सान्त्वना स्थान प्राप्त गरेका थिए ।

नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरू बीचमा सम्मन्न उक्त लोक नृत्य प्रतियोगितामा १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । पुरस्कार वितरण समारोहका प्रमुख अतिथि बागमती प्रदेशका माननीय स्वास्थ्य मन्त्री किरण थापाले विजेता नृत्य समूहलाई मेडल र ट्रफी प्रदान गरे । थापाले यस्तो प्रकारको प्रतियोगिताले कला र संस्कृतिको जगेर्ना हुने उल्लेख गर्दै नेसनल प्याव्सन भक्तपुरले नृत्य सँगसँगै अन्य विविध खेलकुद र बौद्धिक रूपमा विद्यार्थीहरू बीच प्रतिस्पर्धा गराउँदै आएकोमा प्रशंसा गरे ।

नेसनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्काले शैक्षिक सत्र २०८१ देखि विविध कार्यक्रम आफ्ना सदस्य विद्यालयलाई आयोजना गर्ने जिम्मा दिइएकोमा लोकनृत्य प्रतियोगिता स्टुडेन्ट एकेडेमी स्कुलले सम्पन्न गरेकोमा स्कुल एवं प्रिन्सिपल सुमन शिल्पकारलाई धन्यवाद व्यक्त गर्नु भयो । अध्यक्ष खड्काले निष्पक्ष निर्णायकको भूमिकामा रहने महेश गोदार, कल्पना राजचल र प्रेम श्रेष्ठ एवं कार्यक्रममा उपस्थित अतिथि र विद्यालय प्रतिनिधिलाई आभार प्रकट गरे ।



प्रतिक्रिया दिनुहोस्